लक्ष्मी लामा/राजेन्द्र नापित (इमेज)
काठमाडौं, मंसिर १ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै पर्यटन प्रवर्धनका विभिन्न प्रयास सुरु भएका छन् ।
नेपाल भ्रमणमा आउने पर्यटकका लागि सरकारले सहजरुपमा भिसा उपलब्ध गराउँदै आएको छ ।
सरकारले १२ देशका नागरिकबाहेकलाई ‘अनएराइभल’ भिसा नै दिने व्यवस्था गरेको छ ।
सरकारले सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा करिब १० लाख पर्यटक नेपाल भित्रिएका थिए ।
यो वर्ष अहिलेसम्म करिब ८ लाख पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले जानकारी दिए ।
अधिकांश पर्यटक नेपालको सुन्दर प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न आउने गर्दछन् । कतिपय बिजनेस भिसा, कामदार भिसा र अध्ययन भिसामा पनि नेपाल आउने गर्दछन् ।
पर्यटक भिसामा आउने पर्यटकले नेपालमा १५० दिनसम्ममात्र बस्न पाउने व्यवस्था छ । अध्यागमन ऐन, नियमअनुसार नेपालले हाल ९ प्रकारका भिसा जारी गर्दै आएको छ ।
कूटनीतिक र औपचारिक भिसा परराष्ट्र मन्त्रालयले जारी गर्छ भने गैरपर्यटकीय भिसा पहिलोपटक गृह मन्त्रालयले दिने गर्दछ । आवासीय भिसा दिने अधिकार पनि गृह मन्त्रालयलाई छ । त्यसपछि अध्यागमन विभागले नवीकरण गर्ने गर्दछ ।
सन् २०१७ मा ५६ जनाले आवासीय भिसाका लागि आवेदन दिएकामा २४ जनाको भिसा नवीकरण भइसकेको छ ।
तर, ‘टुरिस्ट भिसा’मा हालसम्म कति पर्यटक नेपाल भित्रिए भन्ने तथ्यांक भने अध्यागमन विभागसँग छैन ।
नेपाल आउने विदेशी नागरिकको अनुगमन अध्यागमन विभागले गर्ने गरेको छ । समयसीमाभन्दा बढी नेपालमा बसेमा उनीहरुलाई कारबाही गर्ने गरिएको छ ।
स्थानीय तहदेखि विदेशी नागरिकको अनुगमन गर्ने गरिएको अध्यागमन विभागका निर्देशक उपाध्याय बताउँछन् ।
कतिपय विदेशी नागरिक नेपालमा आएर अवैधानिक काममा लागेको गुनासो पनि सुनिने गरेको छ । त्यस्ता नागरिकप्रति सरकारले अनुगमन बढाउनुपर्ने देखिन्छ ।
नेपाल भ्रमण वर्षका नाममा नेपाल भित्रने र गैरकानुनी काम गर्न खोज्नेलाई अहिलेदेखि नै निगरानी बढाउनु आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्