काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित अदालतका एक न्यायाधीशले सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टाको प्रेस पास तत्काल फिर्ता गर्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसलाई आदेश दिएका छन् ।
केही दिनअघि ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बहसमा उत्रिएका वरिष्ठ पत्रकार एकोस्टाको प्रेस पास फिर्ता लिइएको थियो ।
तर न्यायाधीशले पत्रकारको पास फिर्ता दिने आदेश दिएका थिए । उनले राष्ट्रपति ट्रम्पविरुद्धको मुद्दा अझै अदालतमै रहेको बताएका छन् ।
अदालतले ह्वाइट हाउसले पत्रकारको पास खोस्नु प्रेस र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हुने ठहर गरेको छ ।
अदालतको निर्णयको प्रशंसा गर्दै पत्रकार एकोस्टाले अब आफू नियमित काममा फर्कने बताएका छन् ।
अदालतको आदेशपछि ह्वाइट हाउसले अस्थायी रुपमा एकोस्टाको पास फिर्ता दिएको छ ।
यो कार्डको मद्दतले उनी अब ह्वाइट हाउसले गर्ने कार्यक्रमसहित राष्ट्रपति सहभागी हुने कार्यक्रममा सहभागी हुन एकोस्टालाई कुनै बाधा पर्ने छैन ।
एकोस्टाका वकिलले पत्रकारिता क्षेत्रमा यो दिन महान दिनको रुपमा रहने बताए
यही नोभेम्बर ७ मा राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र एकोस्टाबीच बहस भएको थियो ।
यसपछि नोभेम्बर ८ मा उनको प्रेस पास फिर्ता लिँदै ह्वाइट हाउस प्रवेशमा रोक लगाइएको थियो ।
ह्वाइट हाउसको निर्णय प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विरोधी भएको भन्दै सीएनएनले अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको थियो ।(एजेन्सी)




प्रतिक्रिया दिनुहोस्