Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


बेलहियामा एकीकृत भन्सार चेकपोष्ट निर्माण अन्योलमा


0
Shares

-दीपक घिमिरे/ईमेज

भैरहवा । रुपन्देहीस्थित बेलहिया नाकामा दुई देशको भू–भाग समेटेर बनाउने भनिएको एकीकृत भन्सार चेकपोष्ट निर्माणमा अन्योल देखिएको छ ।

नेपाल सरकारले जग्गा अधिग्रहण गरे पनि भारतीय पक्षबाट प्रक्रिया अगाडि नबढ्दा निर्माणमा अन्योल देखिएको हो ।

जसका कारण व्यवसायी र उपभोक्ता मारमा परेका छन् ।

दुवै देशबीच आयात निर्यात् सहज रुपमा गर्ने भन्दै १५ वर्ष अघि नेपाल–भारतका अधिकारीबीच मुख्य नाकामा एकीकृत भन्सार चेकपोष्ट अर्थात् आइसीपी निर्माण गर्ने सहमति भएको थियो तर बिडम्बना अहिलेसम्म वीरगन्जमा बाहेक अन्य नाकामा आइसीपी निर्माण हुन सकेको छैन ।

नेपालगंज, विराटनगर, बेलहिया नाकामध्ये विराटनगरमा निर्माण कार्य जारी छ ।

भैरहवास्थित बेलहिया नाका नजिक आइसिपी निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरिसकेको छ तर भारतीय पक्षबाट अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेकोे भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्रबन्धु अर्याल बताउँछन् ।

दैनिक सयौं मालबाहक सवारी भित्रिने बेलहिया  भन्सारमा प्रभावकारी पूर्वाधार नहुँदा असहज भएको व्यवसायीको गुनासो देखिन्छ ।

जसले गर्दा कतिपयले त अरु नाका रोज्न थालेका छन् । अर्कोतर्फ नाकामा विभिन्न कारण देखाउँदै भारतीय सुरक्षाकर्मीको अवरोध जारी छ ।

मालबाहक गाडीहरु भित्रिने क्रम बढ्दा जाँचपास गराउन  धेरै दिन लाग्ने गरेको र व्यवसायीलाई डेमरेज र डिटेन्सन चार्ज बढी तिर्नुपरेको नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष डा. शान्तकुमार शर्माको भनाइ छ ।

सामान लोड भएको एक हप्ताभित्र नेपाल प्रवेश गर्नुपर्ने नियम भएपनि अहिले मालबाहक सवारीलाई १०–१५ दिन लाग्ने गरेको छ, जसले दैनिक रुपमा १ हजार भारतीय रुपैयाँको जरिवाना तिर्नुपरेको छ ।