२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


४० वर्षअघि सुरु गरिएको लुम्बिनी गुरुयोजना पूरा गर्न अझै ६ अर्ब बजेट चाहिने(भिडियो)


0
Shares

दीपक घिमिरे/ईमेज:
भैरहवा, बैशाख १६ । विश्व शान्तिको मुहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकासका लागि भन्दै ४० वर्षअघि सुरु गरिएको काम अझै पूरा भएको छैन ।

लुम्बिनी विकास कोषले गुरुयोजनाको काम ८० प्रतिशत मात्र सकिएको जनाएको छ । सन् १९७२ मा जापानी वास्तुविद् प्रा.केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा पाएका थिए ।

उनले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेपछि योजनाबद्ध लुम्बिनी विकास आरम्भ भएको हो । गुरुयोजना कार्यान्वयन शुरु भएको ४० वर्ष वितिसकेको छ ।

तर, काम भने पूरा भएको छैन । लुम्बिनी विकास कोषले चार दशकमा ८० प्रतिशत काम सकिएको जनाएको छ ।

कोषमार्फत् खर्च भएको ३ अर्ब ७३ करोड ५७ लाखमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रले लगानी गरेका छन् ।

लुम्बिनी गुरूयोजना भित्र बिहार क्षेत्रमा सबैभन्दा बढी १ अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । बिहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ ।

अहिले गुरूयोजनाका महत्वपूर्ण केही संरचनाको निर्माण कार्य सुरू भएको योजना प्रमुख प्रमुख इन्जिनियर सरोज भट्टराईको भनाइ छ ।

आगामी तीन वर्षभित्र गुरूयोजनाको काम पूरा हुने दाबी लुम्बिनी विकास कोषले गरेको छ । गुरूयोजना अनुसार अब बाँकी रहेको २० प्रतिशत काम पुरा गर्न करिब ६ अर्ब रूपैयाँ लाग्ने छ ।

समयमै लुम्बिनी गुरुयोजना पुरा नहुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप नै भएको लुम्बिनीका अनुसन्धानकर्ता एवं संस्कृतिविद् प्रा.डा.गितु गिरीको भनाइ छ ।

गुरुयोजनाअनुसार काम गर्न कोष र स्थानीयबीच समन्वय छैन । कोषले आफूहरुलाई सहभागीता नगराएको स्थानीयको गुनासो छ ।

जसका कारण बेला बखत स्थानीय र कोषबीच जुहारी चल्छ ।

अहिले स्थानीय सरकार आईसकेको अवस्थामा स्थानीय सरकार र कोषको सहकार्यले अब चाडै नै गुरुयोजना पुरा हुने लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहन सिंह चौधरीको आशा छ ।

यो वर्ष १२ लाख लिटर क्षमताको वाटर टावर निर्माण गर्ने र लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माणको शुरुआत गर्ने तयारी छ । गुरुयोजना भित्र रहेका ८ मध्ये २ वटा भवन निर्माण भइसकेका छन् ।

भिडियो