
डिल्लीराज पन्त/
कञ्चनपुर, वैशाख १६ । विगत एक वर्षको अवधिमा भारतसँग सीमा जोडिएको पश्चिमी जिल्ला कञ्चनपुरमा विभिन्न सीमा क्षेत्रमा ४ पटक भारतीय पक्षबाट अवरोध सिर्जना भएको छ ।
पछिल्लो पटक गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली भूमिमै विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बलले ज्यादतीशैलीमा अवरोध सिर्जना गरेको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जंगली जनावर गाउँ पस्न बाँचबचाउन विद्युतीय तारबार लगाउँदा एसएसबीले अवरोध सिर्जना गरेका छन् ।
पुनर्वास नगरपालिका–९ का स्थानीयलेनेपाल भारत सीमा पिलर नम्वर १९५ को नेपाली भूभागमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध सिर्जना भएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सुरक्षाकर्मीले एकतर्फी ढंगबाट हेपाहा प्रवृति देखाउदै दादागिरी शैलीमा अवरोध गरेका हुन् ।
भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्तर्गत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरिएका कारण सीमा पिलर १९५ मा अवरोध सिर्जना गरेर तारबार पनि उखेलिदिएका छन् ।
भारतीय पक्षबाट एक बर्षमै कञ्चनपुरको चारवटा सिमा क्षेत्रमा ज्यादती भएको छ । एसएसबीको अवरोधपछि तारबार लगाउने काम रोकिएको छ ।
अघिल्लो फागुनमा पुनर्वास नगरपालिका ४ आनन्द बजारमा कल्भर्ट निर्माणको विषयमा भएको विवादमा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा नेपाली नागरिक गोविन्द मारिए, सोही ठाँउमै भारतीय पक्षबाट गत कात्तिकमा डे«न्च खनियो भने कात्तिकमै भीमदत्त गरपालिका १० जिमुवामा होमपाईप बिछ्याउने बेला एसएसबीबाटै अवरोध भयो ।
माघमा बेलौरी नगरपालिका १० सडकघाटमा सडक चौडाई गर्दा भारतीय पक्षबाट अवरोध हुँदा कामै रोकियो । यसरी पटक पटक श्रृंखलाबद्ध ढंगबाट भारतीय पक्षबाट नेपाली भूमिमा धावा बोल्ने काम भएको भन्दै स्थानीयले भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।
पटक पटक सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुँदासमेत नेपाल पक्षले राष्ट्रियताका विषयमा कुटनीतिक पहल नगरेको स्थानीयको गुनासो छ ।
पुनर्वासका स्थानीय अगुवाहरुले हालै नेपालका प्रधानमन्त्री भारतमा भ्रमण गरेर फर्किएको केही दिनमै भारतीय पक्षबाट सीमा क्षेत्रमा नेपालीमाथि ज्यादती भएको घटनाले नेपालबाट समस्या समाधानका लागि कुटनीतिक पहल नभएको टिप्पणी गरेका छन् ।
सीमा सर्वे टोली खटाउँदा समेत सरकारको गैर जिम्मेवारीपनका कारण समस्या खडा भएको स्थानीयको गुनासो छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको पर्याप्त पहुँच नभएका कारण पनि पटक पटक सीमा क्षेत्रमा भारतीयपक्षबाट समस्या खडा हुने गरेको स्थानीयको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्