
लुम्बिनी, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्यालीमा सहभागी भएका छन् ।
लुम्बिनीबाट सुरु भएको शान्ति र्यालीमा करिव २० मिनेट प्रधानमन्त्री ओली सहभागी भएका हुन् । र्यालीमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराईलगायत पनि सहभागी थिए ।
लुम्बिनीस्थित मयलवार बजारबाट शुरु भएको र्याली लुम्बिनीको मुख्य द्वार हुँदै मायादेवी मन्दिर पुगेको थियो ।
मायादेवी मन्दिरसम्म र्यालीको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गरेका थिए भने मायादेवी मन्दिरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
प्रधानमन्त्री ओली मायादेवी मन्दिरबाट शान्ति द्वीपसम्म र्यालीमा सहभागि भएका हुन् । र्यालीमा बेबी बुद्धलाई लुम्बिनी परिक्रमा गराइएको थियो ।
त्यसअघि प्रधानमन्त्री ओलीले मायादेवीस्थित मायादेवी मन्दिरको निरीक्षण गरेका थिए भने अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको निरीक्षणसमेत गरे ।
आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका प्रधानमन्त्री ओली सोमबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्