काठमाडौं, कात्तिक ३० । विश्व बैंकले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित गराउनुपर्नेमा जोड दिएको छ ।
शुक्रबार राजधानीमा ‘नेपाल कन्ट्री प्राइभेट सेक्टर डाइनोग्स्टीक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले स्वदेशी एवं विदेशी निजी क्षेत्रको लगानी आकर्षित हुनसके ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न गाह्रो नहुने जनाएको हो ।
निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नेपाल सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको भन्दै त्यसका लागि आवश्यक कानुनलगायतका विषयमा सुुधार गर्न सुझाएको छ ।
विश्व बैंकले पर्यटन, कृषि व्यवसाय, स्वास्थ्य, शिक्षा र सूचना–प्रविधिमा अवसर रहेको पनि जनाएको छ ।
प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको प्राथमिकता आर्थिक विकासमात्रै रहेको बताए ।
आर्थिक विकासका लागि साना तथा मझौला उद्यमीलाई प्रवर्धन गरिनुपर्नेमा उनले जोड दिए ।
साना तथा मझौला क्षेत्रमा गरिएको लगानीले तत्काल दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सहयोग नगरेपनि त्यसले आधार तयार पार्ने उनको भनाइ थियो ।
विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविक स्काफेरले निजी क्षेत्रको लगानी आकर्षित गर्न जग्गामा पहुँच र विद्युत्को सहज आपूर्तिमा सरकारले ध्यान दिनुपर्ने बताए ।
निजी क्षेत्रको लगानीले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहज हुने उनको भनाइ थियो ।
विश्व बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै लगानीको अवसर रहेको भन्दै मोफसलमा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई सुझाव दिएको छ ।









प्रतिक्रिया दिनुहोस्