२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लिटिल फ्लावर र विज्डम विजयी


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, कात्तिक ३० । धनगढीमा जारी निस्ट कलेज लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् शुक्रबार भएका खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी कन्चनपुर विजयी भएका छन् ।

संघीय प्रहरी कार्यालयको खेलमैदानमा भएको खेलमा लिटिल फ्लावरले शारदा मावि वैयावेहडीलाई २० रनले हरायो ।

यस्तै, विज्डम एकेडेमीले काठमाडौंको हिमालय ह्वाइटहाउस स्कुललाई ४ विकेटले किनारा लगाएको हो ।

शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा समूह ‘ए’अन्तर्गत् लिटिल फ्लावरले शारदा माविलाई हराउँदै शानदार सुरुआत गर्‍यो ।

लगातार दोस्रो खेलमा पराजित भएको शारदा मावि भने प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित् २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

लिटिल फ्लावरका लागि कप्तान विपीन रावलले ५६, शेर मल्लले अविजित २५, सुरज तिरुवाले २१, अनिल थापाले १४ र विशाल भट्टले १० रनको योगदान दिए ।

शारदाका कप्तान सिप्टन अन्सारी, योगेन्द्र साउद, राहुल भण्डारी र दीपक टमटाले १/१ विकेट लिए ।

जवाफमा शारदाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमात्र बनाउन सक्यो ।

उसका लागि राजन सिंहले ५१, राहुल भन्डारीले १९ र कप्तान सिप्टन अन्सारीले १३ रनको योगदान दिएपनि टिमलाई जिताउन सकेनन् ।

लिटिल फ्लावरका शेर मल्ल र दीपक रोकायाले २/२ तथा बिक्रम ठगुन्ना, अनुज बिष्ट र सुरज तिरुवाले १/१ विकेट लिए ।

विज्डम एकेडेमीको पहिलो जित

शुक्रबार भएको दोस्रो खेलमा विज्डम एकेडेमीले पहिलो जित निकाल्यो । जितसँगै विज्डम एकेडेमीले अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायम राखेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको ह्वाइटहाउस १५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

ह्वाइटहाउसका लागि कप्तान सुशान्त सिंहले २१, अरुण ऐरीले १६ र फ्रिदोस अन्सारीले १० रन बनाउनबाहेक अरु ब्याट्सम्यानले दोहरो रनको स्कोर जोड्न सकेनन् ।

ह्वाइटहाउसलाई सस्तैमा समेट्नेक्रममा विज्डमका चन्द्रसिंह कार्कीले ३, कैलाश ऐर र बसन्तसिंह कार्कीले समान २/२ विकेट लिए । किरनकुमार ठगुन्नाले १ विकेट झारे ।

८८ रनको सामान्य लक्ष्य विज्डमले १४.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।

विज्डमका लागि कप्तान लोकेश बमले २४, बसन्तसिंह कार्कीले १५ रन बनाए ।

ह्वाइटहाउसका अमृत सिंह, शुसान्त सिंह र रमेश भट्टले समान २/२ विकेट लिए । 

विद्यालयस्तरीय प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।