
गृष्मा राजभण्डारी/नवीन स्थापित(ईमेज):
काठमाडौं, बैशाख १८ । आज(मगलबार) अन्तर्राष्ट्रिय मजदुर दिवस । सधैझै यस वर्ष पनि विभिन्न संघ संस्थाले आ–आफ्ना ब्यानरमा यो दिवस मनाए ।
तर काम नगरी खान नपुग्ने वर्गले भने आज पनि आफ्नो कर्मलाई निरन्तर राख्दै दिवसको सार्थकता खोजे ।
रोजी रोटीका लागि पसिना बगाउने यी मजदुरको भनाइले वास्तवमा आम मजदुरहरुको पीडा झल्काउँछ ।
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम । हरेक मजदूर दिवसमा यही नारा दोहो¥याइन्छ । कतिले यो सन्देशलाई व्यवहारमा उतार्न पाएका होलान् ? अर्को बहसको विषय छ ।
जोखिमपूर्ण श्रम क्षेत्रमा रहेका कति मजदूरका लागि यो एउटा सुन्दर सपना मात्र बनेको होला । तैपनि अन्तर्राष्ट्रियस्तरमा मजदुरले प्राप्त गरेको यही अधिकारको सम्झनामा वर्षेनी विश्वभर यो दिवस मनाइन्छ ।
नेपालमा पनि यो दिवस मनाइयो । तर गाँस, बास र कपासका लागि घण्टौंसम्म काम गर्न बाध्य यी मजदुरलाई न त मजदुर दिवसको रौनकले छोप्यो न त कुनै उत्साह र उमंग नै । यति मात्र कहाँ हो र ?
मजदुर दिवसको बारेमा ज्ञान त छ तर काम नगरी खान नपाउनेका लागि यस्ता दिवसले केही फरक पारेन यी मजदुरहरुलाई ।
यद्यपि, मजदुरहरुको हक हितका लागि यस्ता दिवस आवश्यक रहेको अरु केही मजदुरको भनाई छ । बाचुन्जेल पेट पाल्नका लागि निरन्तर काम गर्नुपर्नेहरुलाई मजदुर दिवसले खासै केही प्रभाव पारेको देखिन्न ।
नेपालमा मात्रै होइन बिश्वभर नै मजदुरहरु आफना हक अधिकारका लागि लडिनैरहने गर्छन् निरन्तर ।
मजदुरमाथिको शोषण, तोकेको समयभन्दा बढी काम र काम अनुसारको पारिश्रमिक नहुनु नै मजदुरका वास्तविक समस्या हुन् । यी समस्या समाधानका लागि उनीहरुको संघर्ष निरन्तर रहेको छ ।
बर्षको एकचोटी मनाइने मजदुर दिवसमा केही संघ संस्थाले औपचारिक कार्यक्रम भने गर्दछन् । नेपालमा संगठित क्षेत्रमा करीब २० लाख मजदुर रहेको तथ्यांक छ ।
असंगठित क्षेत्रका मजदुरको संख्या त जनसंख्याको एक तिहाईभन्दा बढी अर्थात झण्डै सवा करोड रहेको अनुमान छ ।
अधिकारका लागि एकीकृत पहल नगर्दासम्म मजदुरकोे अवस्थामा सुधार आउन नसक्ने यथार्थ छँदैछ । त्यसका लागि सबैको सामूहिक पहलकदमी जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्