काठमाडौं, बैशाख २० । इङ्गलिस फुटबल क्लव लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गएराति ईटालीको रोममा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा स्थानीय टोली ए.एस रोमासँग ४-२ ले पराजित भए पनि समग्रमा ७-६ ले विजयी हुँदै लिभरपुलले फाइनलमा स्थान पक्का गरेको हो ।
आफ्नै मैदानमा गत साता भएको पहिलो लेगको खेलमा लिभरपुल ५-२ ले विजयी भएको थियो ।
गएरातिको खेलमा रोमाका लागि राद्या नैनगोलानले दुई गोल गर्दा एडिन जेकोले एक गोल थपे ।
लिभरपुलका जेम्स मिल्नरले एक आत्माघाति गोल गरेका थिए । लिभरपुलका लागि भने सादियो माने र जर्जीनियो वहाल्दुमले एक–एक गोल गरेका थिए ।
फाइनलमा प्रवेश गरेसँगै लिभरपुलले स्पेनिस महारथी रियाल मड्रिड विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।
लिभरपुल ११ वर्षपछि युरोपियन क्लव फुटबलको सर्वोच्च प्रतियोगिताका च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
फाइनल खेल यही मे २६ तारिखको दिन युक्रेनको राजधानी किभ शहरमा आयोजना हुनेछ ।
रियाल मड्रिडले १२ पटक च्याम्पियन्स लिग जितेको छ भने लिभरपुलले ५ पटक यो उपाधि आफ्नो नाम लेखाएको छ ।








प्रतिक्रिया दिनुहोस्