१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


स्थगित ‘ए’ डिभिजन लिग शनिबारदेखि, लिग नखेल्ने एनआरटीको चेतावनी


0
Shares

कुमार चौलागाइँ (रासस)

काठमाडौं, कात्तिक ३० । चाडपर्वका कारण स्थगित गरिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

गत असोज १३ गते सुरु भएको लिग बंगलादेशमा भएको बंगबन्धु गोल्डकप प्रतियोगिता र दसैं, तिहार तथा छठका कारण स्थगित गरिएको थियो ।

लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् ।

शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

पहिलो चरणको खेल सकिँदासम्म मनाङ–मर्स्याङ्दी, संकटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै ३/३ अंक जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै १/१ अंक जोडेका छन् ।

त्यसैगरी, जावलाखेल, सरस्वती, फ्रेन्ड्स र ब्रिगेड ब्वाइज हार व्यहोर्दै अंकविहीन छन् ।

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी, मंसिर २ गते मच्छिन्द्र क्लब र नेपाल पुसिल क्लबबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

मंसिर ३ गते जावलाखेल युथ क्लब र संकटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र एपीएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ ।

सोही दिन सरस्वती क्लब र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरणको खेल समाप्त हुनेछ ।

तेस्रो चरणको खेल मंसिर ६ गतेदेखि सुरु हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मच्छिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु सात लाख र छैटौंले रु पाँच लाख पाउनेछन् ।

‘फेयरप्ले’ टिमले रु एक लाख पाउनेछ । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार दिनेछ ।

यस्तै, लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लोपटक वि.सं. २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

लिग नखेल्ने एनआरटीको चेतावनी

यसैबीच, न्यूरोड टिम (एनआरटी)ले लिग नखेल्ने चेतावनी दिएको छ ।

एन्फाले फिफा रेफ्री सुदिस पाण्डेलाई कारबाही नगरेको भन्दै एनआरटीले लिग नखेल्ने बताएको हो ।

एनआरटीले रेफ्री पाण्डेको गलत निर्णयका कारण लिगको पहिलो खेलमा बराबरी खेल्नुपरेको बताउँदै रेफ्रीलाई कारबाहीको मागसहित एन्फामा निवेदन दिएको थियो ।

एक महिना बितिसक्दासमेत एन्फाले निवेदनकाबारेमा केही निर्णय गरेको छैन ।

गत असोज १३ गते सुरु भएको लिगको उद्घाटन खेलमा एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेलेका थिए ।

अन्तिम समयमा गोलकिपरले धेरै समय बल ‘होल्ड’ गरेको भन्दै रेफ्री पाण्डेले आर्मीलाई डी बक्सभित्र फ्रिकिक दिएका थिए ।

त्यस्तै, पहिलो हाफमा आर्मीलाई दिइएको पेनाल्टीको निर्णयसमेत गलत भएको एनआरटीको दाबी थियो ।

क्लबले रेफ्रीको दुवै निर्णय एनआरटीलाई हराउने नियतले गरिएको भन्दै उचित छानबिन र कारबाहीको माग गर्दै एन्फामा उजुरी गरेको थियो ।

एनआरटी अध्यक्ष दीपकहर्ष बज्राचार्यले एन्फालाई कारबाहीपत्रको विषयमा ध्यानाकर्षण गराएपनि उचित सम्बोधन नभएको बताए ।

‘हामीले अगाडिबाटै एन्फालाई भन्दै आएका छौं । तर, एन्फाले निवेदनमाथि कुनै निर्णय लिएको छैन । यसबारे निर्णय नभए हामी लिगमा सहभागिता जनाउँदैनौं’–उनले भने ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले एनआरटीको पत्रमा आन्तरिक छलफल भइरहेको बताउँदै चाँडै विवाद समाधान गरिने बताए ।

‘रेफ्रीको कारबाहीको विषय निकै संवेदनशील हो । निवेदनबारे छलफल अघि बढिरहेको छ । हामी सहमतिमा पुग्छौं’–उनले भने ।