Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


वायने रुनीको बिदाइ खेलमा इंग्ल्याण्ड विजयी


0
Shares

लन्डन, कात्तिक ३० । इंग्ल्याण्डका पूर्वकप्तान तथा कीर्तिमानी गोलकर्ता वायने रुनीको बिदाइ खेलमा इंग्ल्याण्डले अमेरिकालाई ३–० गोलले पराजित गरेको छ ।

लण्डनको वेम्ले रंगशालामा भएको खेल रुनीको बिदाइकै लागि आयोजना गरिएको थियो । गत वर्ष सन्यासको घोषणा गरेका उनलाई १२० औं क्यापसहित गार्ड अफ अनर दिएर राष्ट्रिय टोलीमा उनले गरेको योगदानको सम्मान गरिएको थियो ।

करिअरको अन्तिम खेलमा ३३ वर्षीय रुनीले ३३ मिनेट मैदानमा बिताए । ५८ औं मिनेटमा जेसे लिंगार्डलाई प्रतिस्थापन गर्दै रुनी मैदान छिरेका थिए ।

खेलको २५औं मिनेटमा लिंगार्डले नै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि नै अलेक्जेण्डर आर्नोल्डले अग्रता दोब्बर बनाए । ७७ औं मिनेटमा कालोम विल्सनले इंग्ल्याण्डलाई ३–० को जित निश्चित गराएका थिए ।