१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सिन्डिकेटको सास्ती ! (भिडियो)


0
Shares

सिन्डिकेटको पक्षमा रहेका यातायात व्यवसायीले राजधानीका कुनैपनि रुटमा यातायात चलाएनन् ।

सिन्डिकेट तोड्ने सरकारको निर्णयलाई चुनौती दिन उत्रेका सिन्डिकेटधारी यातायात व्यवसायी गाडी ग्यारेजमा धन्क्याएर हड्तालमा उत्रेका हुन् ।

लामो तथा छोटो दूरीका सवारी–साधन नचलाउँदा त्यसको मार भने आमनागरिकको थाप्लोमा पर्‍यो ।

काठमाडौंका लामो तथा छोटो दूरीका यातायात सन्चालन हुने बस बिसौनीहरुमा यात्रीको चाप रहेपनि सवारी–साधन नपाउँदा उनीहरुको कन्तबिजोग देखिन्थ्यो ।

काठमाडौंको नयाँ बसपार्क, माछापोखरी, कलंकी, कोटेश्वर, सुन्धारा, रत्नपार्कलगायतका स्थान गाडी नहुँदा सुनसान देखिन्थे । यात्री भने गाडी नपाएर बिलखबन्दमा !

त्यसो त काठमाडौंमा चल्ने अधिकांश माइक्रोबस र टेम्पो पनि चलाइएन । त्यसको भार फाट्टफुट्ट चलेका ठूला बसमाथि थियो । ती बसमा यात्रीको भीडभाड थियो ।

कोही झुन्डिएर त कोही मुढा र टुलमा बसेर यात्रा गर्दै थिए । यति हुँदा पनि गन्तव्यमा पुग्ने धेरै यात्री अलपत्रै छुटेका थिए ।

समयमा बस चढ्न नपाउँदा र गन्तव्यहीन हुनुपर्दा यात्रीहरु बन्दकर्तामाथि आक्रोश पोख्दै थिए ।

कसैलाई विमानस्थल त कसैलाई अस्पताल पुग्नुपर्ने, कोही काठमाडौंबाहिर जानुपर्ने चटारोमा थिए ।

बसपार्कमा बस कुर्नेको संख्या बढ्दै जाँदा पनि गन्तव्यमा पुग्न साधन नपाएर बेचैनी देखिन्थ्यो ।

भाडाका सवारी–साधन नयाँ बसपार्कमा थन्किएका छन् । अन्योलले बिहानपख सवारी–साधन कम चले भने दिउँसोबाट ट्याक्सीले महँगो भाडा लिएर यात्री ओसार्दै थिए ।

साझा, मेट्रो र मयुर यातायातजस्ता ठूला बसले यसपटक यात्रीलाई निकै राहत दिए ।

सिन्डिकेटको पक्षधर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने जनतालाई दुःख दिने आफूहरुको नियत नभएको तर्क गर्दै थिए ।

९५ प्रतिशत व्यवसायी आन्दोलनको पक्षमा रहेको भन्दै उनले यात्रीमाथि परेको सकसको जिम्मेवार सरकार रहेको भन्न छुटाएनन् ।

२ लाख ६० हजार सवारी–साधन ग्यारेजमा थन्काए सरकारलाई झुकाउन हडतालमा उत्रेका व्यवसायी र राज्यको जुहारीमा आमजनताले दुःख त खेप्नुपर्‍यो । तर, यसबाट व्यवसायीले आमजनताको उल्टै खप्की खानुपर्ने देखिएको छ ।

भिडियो हेर्नुहोस्