काठमाडौं, कात्तिक २९ । नवलपुरमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लबले जितेको छ ।
बिहीबार मध्यविन्दु राइनो रंगशालामा भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै च्यासलले उपाधि जितेको हो ।
निर्धारित् ९० मिनेट र थपिएको १५ मिनेटको अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा च्यासलका लागि बिमल घर्तीमगर, छिरिङ गुरुङ, विश्व अधिकारी, देवेन्द्र तामाङ र हेमन्त थापाले गोल गरेका थिए ।
पुलिसका रेजीन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गर्दा तेज तामाङ असफल भएका थिए ।
१२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधिसँगै च्यासलले चार लाख ९९ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता पुलिसले दुई लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगिता यही कात्तिक १५ गतेदेखि सुरु भएको थियो ।








प्रतिक्रिया दिनुहोस्