काठमाडौं, कात्तिक २९ । नेपाली सेनाका तीन खेलाडी राजधानीमा जारी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा सेनाका रत्नजित तामाङले बिहीबार पुलिसका निरविक्रम देवकोटालाई २१–१७ र २१–१८ को सेटमा, रुकेश महर्जनले पुलिसका विष्णु कटुवाललाई २१–१६ र २१–१९ को सेटमा तथा नविन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठलाई २१–१९ र २१–११ ले पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् ।
त्यसैगरी, सशस्त्र प्रहरीका दिपेश धामीले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६ र २२–२० ले पराजित गरे ।
महिला एकलतर्फ नेपाली सेनाका दुई र सशस्त्रका दुई खेलाडी अन्तिम चारमा पुगे ।
सेनाकी नङ्शलदेवी तामाङले बाँकेकी सम्झना शर्मालाई, सशस्त्रकी शोभा गौचनले सेनाकी अनुमाया राईलाई, सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई र सशस्त्रकी जेशिका गुरुङले सेनाकी अमिता गिरीलाई हराएर अन्तिम चारमा पुगेका हुन् ।
नेपाल खेलकुद महासंघअन्तर्गत् राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा महिला पुरुषको १७ वर्षमुनि तथा युगलका खेल पनि भइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्