११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


टेक्सासमा मेक्सिकाली पुरुषलाई घातक सुइ लगाएर मृत्युदन्ड दिइयो


0
Shares

वासिङटन, कात्तिक २९ । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमती र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदन्ड दिइएको छ ।

स्थानीय अधिकारीहरुले ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुइ लगाएर मृत्युदन्ड दिइएको जनाएका छन् ।

उनलाई सन् १९९३ मा सात र तीन वर्षका बच्चासहित पत्नीको हत्या आरोपमा मृत्युदन्डको सजाय दिइएको थियो ।

रामोसले तीनैजनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए । त्यसको तीन दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी झुक्याएर विवाह गरेका थिए ।

मृतकको शव दुई महिनापछि फेलापरेको थियो ।

विगत २५ वर्षसम्म वकिलहरुले रामोसलाई दिइएको मृत्युदन्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन् ।

मृत्युदन्ड सूचना केन्द्रकाअनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमामात्र पाँचजना मेक्सिकालीलाई मृत्युदन्ड दिइएको छ ।

संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदन्ड दिइसकिएको छ र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन् । रासस/एएफपी