२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सिंगारिँदै मुक्तिनाथः मोदीको भ्रमणका लागि यस्तो छ तयारी (९ तस्वीर)


0
Shares

मन्दिर र मन्दिर वरिपरि सिंगार्ने, चिटिक्क पार्नुका साथै आवश्यक मर्मतका कार्य धमाधम भइरहेका छन् ।

गत हप्ता पूर्वतयारीको अवलोकन गर्न आएको नेपालस्थित भारतीय दूतावासको टोली फर्किएपछि काममा अझ तीव्रता दिइएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल भ्रमणलक्षित तयारी तीव्र पारिएको र भारतीय प्रधानमन्त्री मोदी दक्षिण एसियाकै लोकप्रिय नेता भएकाले मुक्तिनाथ भ्रमणलाई विशेषरुपमा हेरिएको बताउँछन् ।

भ्रमण भव्य बनाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान सक्रियतापूर्वक जुटेका छन् । स्थानीयमा पनि मोदीको भ्रमणबारे व्यापक चर्चा, चासो र उत्साह छ ।

मोदीको मुक्तिनाथ भ्रमणलाई लिएर जिल्लाको शान्ति–सुरक्षालाई बलियो पारिएको प्रहरी नायव उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए ।

उनले उपल्लो मुस्ताङको लोमान्थाङदेखि मुस्ताङको तल्लो क्षेत्र घासासम्मको क्षेत्रमा सुरक्षाको कडा निगरानी गर्ने व्यवस्था मिलाइएको बताए ।

वरिपरि सरसफाइ गर्नेदेखि रङरोगन गरी आकर्षक बनाउनेसम्मका काममा स्थानीय जनता र प्रशासन तल्लीन छन् ।

मुक्तिनाथ मन्दिर रहेको वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक गुरुङले मोदीको भ्रमणलाई निकै प्राथमिकता दिइएको बताए ।

मुक्तिनाथ क्षेत्रको सरसफाइ तथा सुधार, हेलिप्याड निर्माण, मन्दिर परिसरका १०८ पालाका काठ फेर्ने, गेट फेर्नेलगायतका काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।

भ्रमणलाई लक्षित गरी मनाङदेखि मुस्ताङसम्मको सडकखन्ड तीन दिनका लागि बन्द गरिँदैछ । भ्रमण व्यवस्थित र भव्य बनाउन समिति, उपसमिति गठन गरी जिम्मेवारी दिइएको छ ।

वैशाख २८ र २९ गतेका दिन सर्वसाधारणलाई मन्दिर दर्शन गर्न रोक लगाउने र वरिपरिका होटलले पनि पाहुना राख्न नपाउने व्यवस्था गरिएको छ ।