Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


हुम्लाको नाम्खा गाउँपालिकालाई चिनियाँ सहयोग


0
Shares

हुम्ला, कात्तिक २९ । हुम्लाको उत्तरी सीमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीनले तीन लाख युआन बराबरको निर्माण सामग्री सहयोग गरेको छ ।

चीनको स्वसाशित क्षेत्र तिब्बतको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई सो सहयोग गरेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

आफ्ना भू–भागसँग सिमाना जोडिएका नेपाली जिल्लाका लागि हरेक वर्ष विभिन्न किसिमका सहयोग दिँदै आइरहेको चीन सरकारले यस वर्ष पनि वस्तुगत सहायताअन्तर्गत गाउँपालिकामा स्वास्थ्य भवन निर्माणका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तारलगायतका सामग्री उपलब्ध गराएको हो ।

नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिकासमेत तिब्बतसँग जोडिएका गाउँपालिका भएकाले हरेक वर्ष स्वाथ्य, शिक्षा, भौतिकलगायत सहयोग गर्दै आएको छ । तिब्बतको ताक्लाकोटमा चिनियाँ प्रतिनिधिमण्डल, हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सांसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाबीच कात्तिक १२ गते सम्झौता भएको थियो । 

नाम्खा गाउँपालिकाको अध्यक्ष लामाको रोहवरमा चीन सरकारले जस्तापाता, सिमेन्ट, सरिया ग्याबिन उपलब्ध गराएको हो । चीनको ताक्लाकोटबाट १२०० जस्तापाता, ३१५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी रु ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलब्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

चीन सरकारले विगतका वर्षमा पनि चीनसँग सिमाना जोडिएका जिल्लाका लागि वस्तुगत सहायताअन्तर्गत सहयोग दिँदै आइरहेको छ । चीन सरकारबाट उपलब्ध हुने वस्तुगत सहायताअन्तर्गतका सामानहरु स्वाथ्यचौकी भवन मर्मत गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए । (रासस)