
प्रकाश मैनाली/
सर्लाही, वैशाख २७ । सरकारले वर्षेनि ठूलो रकम खर्चेर विद्यार्थी भर्ना अभियान चलाए पनि सर्लाहीमा भने त्यसको खासै प्रभाव देखिएको छैन ।
प्रत्येक वर्ष तामझामका साथ सरकारले भर्ना अभियान चलाए पनि सर्लाहीको ग्रामीण बस्तीमा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् ।
जिल्ला शिक्षा कार्यालय सर्लाहीको तथ्यांकअनुसार सर्लाहीमा अझै २३ हजार ६ सय बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् ।
ती बालबालिका इँटा उद्योग, होटल, सवारी साधनलगायतमा बाल मजदुरको रुपमा कार्यरत छन् । न्यून आयस्तर भएका अति विपन्न परिवारका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित रहेका पाइएको छ ।
बिहान बेलुकाको छाक टार्न भए पनि छोराछोरीलाई आफूहरुसँगै काममा लगाउनुपर्ने बाध्यता रहेको सर्लाही ईश्वरपुरका जोगेन्द्र माझीले बताए ।
जिल्लाका सामुदायिक विद्यालयले अहिले पनि विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । तर विद्यालय बाहिर रहेका बालबालिकालाई उत्साहजनक रुपमा विद्यालय भर्ना गराउन भने सकिएको छैन ।
धेरै समस्याका बाबजुद जिल्लामा जनप्रतिनिधि र शिक्षकहरुको अगुवाईमा विद्यार्थी भर्ना अभियान जारी राखिएको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले बताए ।
जिल्ला शिक्षा कार्यालय सर्लाहीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन सबै विद्यालयलाई परिपत्र गरेरै अभियान चलाउन भनेको छ । तर पनि गरिबी र अशिक्षाका कारण सर्लाहीका ग्रामीण बस्तीका डोम, चमार जस्ता अति पछाडि परेका समुदायका बालबालिका विद्यालय भर्ना भएका छैनन् । त्यस्ता बालबालिकालाई विद्यालय भर्ना गराउन जिल्ला शिक्षा कार्यालयले भने पहल गरिरहेको जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल बताउँछन् ।
केन्द्र र जिल्लास्तरबाट मात्रै बालबालिकालाई विद्यालय भर्ना अभियान अभियान चलाउँदा प्रभावकारी नहुन सक्छ । वडास्तरमै जनप्रतिनिधिले जिम्मेवारी महसुस गरेर भर्ना अभियान चलाउने हो भने शिक्षाबाट बञ्चित धेरै बालबालिकाले उज्यालोको ज्योति पाउन सक्छन् ।
त्यसैगरी पछाडि परेका समुदायका बालबालिकाका लागि आउने छात्रवृत्तिलगायतका अन्य सहयोगमा पनि अनियमितता नहुने हो भने बालबालिकालाई विद्यालय भर्ना गराइ टिकाई राख्नसमेत मद्दत पुग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्