
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला, चाबहिल हुँदै होटल ह्यातसम्मको सडक मर्मतमा तीव्रता दिइएको हो ।
त्यस क्षेत्रमा यत्रतत्र छरिएका बिजुलीका तार पनि हटाइँदैछ । बिजुलीका खम्बासमेत मर्मत–सम्भार गरेको देख्न पाइन्छ ।
विमानस्थलबाट तीनकुने हुँदै संसद भवनसम्म पुग्ने सडक पनि रातारात उसैगरी मर्मत गरिँदैछ भने सडक किनारामा सरसफाइ पनि गरिँदैछ ।
शुक्रबारदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा काठमाडौंका केही स्थानमा स्वागतद्वार पनि बनाइँदैछ ।
मुख्य स्वागतद्वारकारुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट, नयाँबानेश्वर संसद भवनअगाडि स्वागतद्धार बनाइएको भएपनि अरु स्थानमा नेपाल–भारतको झन्डा फहराइएको छ ।
काठमाडौंको फोहोर र धुलाम्मे सडकमा पानी छ्यापेर धमाधम सफाइ गरिँदैछ ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलक्षित गरी रातारात सडक टालटुल पारेपनि गुणस्तर भने राम्रो देखिन्न ।
मोदीकै नाममा रातारात भइरहेको सडक टालटुलको शैलीप्रति भने सर्वसाधरण त्यति खुसी देखिँदैनन् ।
मोदी भ्रमणकै नाममा सडकपेटीमा छरपस्ट बिजुलीका तार धमाधम व्यवस्थित गरेर सडक सिंगारिँदैछ । सडकमा राखिएका अनावश्यक होडिङबोर्ड हटाइँदैछ ।
यसपटक काठमाडौंबासीमा पहिलेझैं मोदीको भ्रमणको उत्साह र चासो देखिन्न । उनीहरु गुनासो गर्छन्–‘काठमाडौंको विकास पाहुनामुखी भयो ।’
सरकारले अहिलेकैजस्तै गरी आगामी दिनमा पनि सडक निर्माण र मर्मत गरोस् भन्ने उनीहरुको चाहना छ ।
प्रतिक्रिया दिनुहोस्