
काठमाडौं, कात्तिक २८ । सर्वोच्च अदालतमा संवैधानिक इजलास बुधबारदेखि सुरु भएको छ ।
गत साउन १६ गतेदेखि संवैधानिक इजलास बस्न सकेको थिएन ।
प्रधानन्यायाधीशको अध्यक्षतामा वरिष्ठताका आधारमा सर्वोच्च अदालतका अन्य चार न्यायाधीश तोकी संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था छ ।
बुधबारदेखि सुरु भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरा, दीपककुमार कार्की र केदारप्रसाद चालिसे छन् ।
संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नियमित बस्न नसक्दा न्याय प्रक्रियामा ढिलाइ भइरहेको थियो ।
एउटा प्रधानन्यायाधीशको अवकाशपछि अर्को प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म वा इजलासका एकमात्र न्यायाधीश नहुँदा पनि उक्त इजलास चल्न सक्दैन ।
प्रधानन्यायाधीश नियुक्त भएर आइसकेपछि पनि संवैधानिक इजलास गठनमा प्राथमिकता दिइएको देखिँदैन ।
प्रधानन्यायाधीश आउनेबित्तिकै प्राथमिकताका साथ सो इजलास गठन गरेर सुनुवाइ सुरु गर्नुपर्ने हो । तर, त्यसो हुन सकेको थिएन ।
प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि गठित पाँच सदस्यीय इजलास गठन भएर पनि इजलास बस्न सकेको थिएन ।
सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीकाअनुसार न्यायाधीश दीपककुमार कार्की विदेश भ्रमणमा रहेका हुँदा इजलास सन्चालन हुन सकेको थिएन । एकजनामात्र न्यायाधीश नभएपछि सो इजलास बस्न सक्दैन ।
संवैधानिक इजलास हप्ताको दुई दिन मंगलबार र बुधबारमात्र बस्ने तय भएको छ ।
प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशले अन्य विषयका मुद्दा पनि हेर्नुपर्ने भएकाले संवैधानिक विवादका विषयमात्र हेर्नका लागि हप्ताको दुई दिन छुट्याइएको हो ।
सर्वोच्च अदालतका अन्य इजलासमा बहस भइसकेपछि संविधानसँग बाझिएका र गहनरुपमा छलफल गर्नुपर्ने मुद्दा पनि संवैधानिक इजलासमा पठाइने र सो इजलासमा गहन बहस र छलफलपछि निर्णय दिने गरिन्छ ।
इजलासमा संवैधानिक विवादका २२३ ओटा मुद्दा सुनुवाइ गर्न बाँकी छ । रासस
प्रतिक्रिया दिनुहोस्