Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रत्नजित र दिपेश क्वार्टरफाइनलमा


0
Shares

काठमाडौं, कात्तिक २८ । पूर्वविजेता राष्ट्रिय च्याम्पियन नेपाली सेनाका रत्नजित तामाङ र सशस्त्र प्रहरीका दिपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताका लगातार ६ पटकका विजेता रत्नजितले बुधबार सम्पन्न प्रिक्वार्टरफाइनलमा सशस्त्रका सुनिल जोशीलाई २१–६ र २१–१७ को सोझो सेटमा हराए ।

यस्तै, दिपेशले सेनाका प्रफुल महर्जनलाई २१–१५ र २१–१५ ले पराजित गरे ।

त्यस्तै, नेपाल पुलिसका विष्णु कटुवालले सशस्त्रका विजित थापामगरलाई २१–१७ र २१–१४ ले तथा पुलिसकै निरविक्रम देवकोटाले सशस्त्रकै सुदीप सेढाइँलाई १२–२१, २१–८ र २१-१० ले हराएर अन्तिम आठमा ठाउँ बनाए ।

सेनाका रुकेश महर्जन र नविन श्रेष्ठ, भोजपुरका विकास श्रेष्ठ तथा सिल्क ग्रुपका प्रिन्स दाहाल पनि क्वार्टरफाइनलमा पुगेका छन् ।

नेपाल खेलकुद महासंघअन्तर्गत्को राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ साविक विजेता सशस्त्रकी जेशिका गुरुङ भोजपुरकी सीता राईलाई २१–१७ र २१–१९ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगिन् ।

यस्तै, सेनाकी नंगशलदेवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरी पनि अन्तिम आठमा पुगेका छन् ।

प्रतियोगितामा जोडी, खुला, १७ वर्षमुनिको महिला तथा पुरुष समूहसँगै भेट्रानतर्फ पनि प्रतिस्पर्धा भइरहेको छ ।