
शुक्रबार जनकपुरमा जानकी मन्दिरको पूजा–आराधनापछि जानकी मन्दिर प्रांगणमा आयोजित ‘रामायण सर्किट’मा जोडिने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुर र अयोध्याबीचको सम्बन्ध उसैगरी अटुट रहने बताए ।
उनले जनकपुर–अयोध्याबीच सीधा बससेवाको सन्चालनले दुई देशबीच पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
ओलीलाई ‘मेरे भाइसाब’ भन्दै मोदीले आफ्नो स्वागतका लागि जनकपुर आएकोमा आभार व्यक्त गरे ।
जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको पनि मोदीले बताए ।
प्रधानमन्त्री मोदीले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीकोरुपमा पाइला टेक्न पाउँदा अत्यन्त खुसी लागेको पनि उल्लेख गरे ।
सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजा जनक र जानकी माताको पवित्र ज्ञानभूमिमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न पाउँदा सिंगो देश निकै खुसी भएको बताए ।
प्रधानमन्त्रीस्तरमा मात्र होइन, जनस्तरमा पनि सम्बन्ध अझ बलियो बनाउन सीधा बससेवा सन्चालन थालिएको उनले बताए ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणकाक्रममा शुक्रबारै बिहान जनकपुर आएका हुन् ।
जनकपुर–अयोध्या सीधा बससेवा सन्चालन
सोही कार्यक्रममा प्रधानमन्त्रीद्वय ओली र मोदीले सीता जन्मस्थल जनकपुर र राम जन्मस्थल अयोध्यासम्म चल्ने बससेवाको हरियो झन्डा फहराउँदै सुरुआत गरे ।
जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार (भोलि) उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् ।
रामायणको प्रमुख पात्र सीता र रामलाई हिन्दूहरुले भगवानकारुपमा पुज्ने गर्दछन् । त्रेतायुगमा जनकपुरका राजा जनककी छोरी सीताको विवाह भारत, अयोध्याका रामसँग भएको थियो ।
त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ ।
जनकपुरबाट बससेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिकरुपमा जोडिएको छ ।
अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ ।
भारतको पर्यटन मन्त्रालयले भारतका १५ ओटा धार्मिकस्थललाई जोड्ने उद्देश्यसहित रामायण सर्किटको अवधारणा बनाएको र त्यसमा नेपालको जनकपुरलाई पनि समेटिएको छ ।
रामायण सर्किटमा भारत, उत्तर प्रदेशका अयोध्या, शृंगवेरपुर र चित्रकुट, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्य प्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम्, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरलाई समेटिएको छ ।
रामायण सर्किटमा श्रीलंकालाईसमेत जोड्ने योजना छ । लंकाका राजा रावणले सीतालाई हरण गरेको र सीतालाई फिर्ता ल्याउन रामले कठिन संघर्ष गर्नुपरेको कथा रामायणमा छ ।
प्रतिक्रिया दिनुहोस्