काठमाडौं, कात्तिक २८ । दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्सले बुधबारदेखि काठमाडौंमा नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय खेलमैदानमा उनले शिविर राखेर प्रशिक्षण दिइरहेका हुन् ।
१० दिनसम्म चल्ने शिविरमा १७ वर्ष र १९ वर्षमुनिका युवालाई लक्षित गरिएको छ ।
यो शिविरले उमेर समूहमा उत्कृष्ट नेपाली क्रिकेटलाई सिनियर राष्ट्रिय टोलीसम्म विस्तार गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
रोड्सले नेपाली सिनियर राष्ट्रिय टोली र १९ वर्षमुनिको राष्ट्रिय टोलीलाई पनि छुट्टाछुट्टै प्रशिक्षण दिनेछन् ।
शिविरमा रोड्सलाई वेस्ट इन्डिज र अफगानिस्तानका पूर्वफिल्डिङ प्रशिक्षक रायन मारोनले सहयोग गरिरहेका छन् ।
शिविरको एक दिनअघि मंगलबार रोड्सले नेपाली क्रिकेट प्रशिक्षकहरुलाई पनि तालिम दिएका थिए ।
दक्षिण अफ्रिकी राष्ट्रिय टोलीबाट ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका रोड्स सन् १९९२ देखि २००३ को अवधिका विश्वकै उत्कृष्ट फिल्डर मानिन्छन् ।









प्रतिक्रिया दिनुहोस्