
सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा सम्मान गारद प्रस्तुत् गर्ने प्रचलन छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिकमञ्च पुग्दा स्वागत गरेका थिए ।
सैनिकमञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुन् ।
यसअघि, पाकिस्तानका प्रधानमन्त्री शहिद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा सम्मान गारद प्रस्तुत् गरेको थियो ।
समारोहमा मन्त्रिपरिषदका सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो ।
नेपालको दुईदिने भ्रमणकाक्रममा भारतका प्रधानमन्त्री मोदी शुक्रबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।
त्यसअघि, जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उनलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नम्बर–२ को राजधानी जनकपुरमा शुक्रबार नागरिक अभिनन्दनसमेत भएको थियो । त्यसअघि, उनले रामजानकी मन्दिरमा विशेष पूजार्चना गरेका थिए ।
विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए ।
सम्मान गारदलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भारतीय प्रधानमन्त्रीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । रासस
प्रतिक्रिया दिनुहोस्