पशुपतिमा मोदीको विशेष पूजाको तयारी पूरा • Image Khabar Image Khabar


पशुपतिमा मोदीको विशेष पूजाको तयारी पूरा


Imagekhabar
२८ बैशाख २०७५, शुक्रबार १८:२७

पशुपतिमा मोदीको विशेष पूजाको तयारी पूरा

मुक्तिनाथमा पूजा एवं दर्शनपछि शनिबार बिहान साढे १० बजेपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइपुग्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपतिमा सरसफाइ, स्वागतद्वार निर्माणलगायत सबै तयारी पूरा भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राससलाई जानकारी दिए ।

मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि रु पाँच करोड सहयोग घोषणा गरेको पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।

त्यसबेलाको घोषणाको सहयोग मन्त्रालयले दिनुपर्ने अनुमतिको प्रक्रिया पूरा नभएकाले रोकिएको उनले सुनाए । सहयोगसम्बन्धी सो प्रस्ताव अहिले पनि अर्थ मन्त्रालयमा रोकिएको कोषले जनाएको छ ।

चार वर्षअघिको भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ मन्दिरमा भएको पूजाका अवसरमा १२ वर्षअघिदेखि रोकिएको नेपाल–भारतमैत्री धर्मशाला निर्माणको बाटो खुला भयो । धर्मशाला निर्माण हाल अन्तिम चरणमा पुगेको छ ।

कोषले उपलब्ध गराएको १६ रोपनी जग्गामा भारत सरकारले तीनतारे होटलस्तरको धर्मशाखा निर्माण गरिरहेको छ ।

धर्मशालामा ४०० जनाको क्षमता छ । धर्मशालाको निर्माणपछि पशुपतिमा विश्वका धार्मिक पर्यटकको संख्या बढ्ने विश्वास गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्