बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २७ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् ।
मंगलबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपाका प्रदेशसभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदीलाई मुख्यमन्त्री भट्टले मंगलबारै दिउँसो पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् ।
यसअघि सामाजिक विकासमन्त्री रहेका दीर्घबहादुर सोडारीलाई मंगलबारै पदबाट बर्खास्त गरिएको थियो । उनको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–४ ‘क’बाट निर्वाचित सोडारीलाई बर्खास्त गरिएपछि कैलाली–४ ‘ख’बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् ।
मुख्यमन्त्री भट्टले संसदीय व्यवस्थामा आउने–जाने काम भइरहने बताए । पदीय मर्यादा र कार्यसम्पादनको विषयलाई लिएर सोडारीलाई पदमुक्त गरिएको उनको भनाइ छ ।
‘अध्ययन गरेर काम’
शपथग्रहणपछि नवनियुक्त मन्त्री सुवेदीले पार्टीले यसअघिका मन्त्रीलाई पदमुक्तभन्दा पनि उनलाई फिर्ता बोलाएर आफूलाई जिम्मेवारी दिएको प्रतिक्रिया दिए ।
आफूले सबै कुराको अध्ययन गरेर काम गर्ने उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई सहजरुपमा समाधान गर्ने प्रतिबद्धता जनाए ।
गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप
मन्त्रीबाट बर्खास्त गरिएका सोडारीले गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाए ।
सोडारीले आफू पार्टीको कैलाली जिल्ला अध्यक्ष भएदेखि नै पार्टीको हितमा काम गरेको र पार्टीलाई सफल बनाएको दाबी गरे ।
उनले आफूले प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वयनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रमलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
को हुन् सुवेदी ?
वि.सं. २०१५ सालमा अछामको जालपादेवीमा जन्मिएका सुवेदीको बाल्यकाल अछाममै बितेको थियो ।
राजनीतिमा सक्रिय हुनुभन्दाअघि उनी अछाममै शिक्षण पेसामा आबद्ध थिए ।
२०४६ सालमा अछामबाट कैलालीको अत्तरियामा झरेपछि उनले नेपाली कांग्रेसमा आबद्ध भइ आफ्नो राजनीतिक जीवन सुरुआत गरेका थिए ।
सुवेदी २०५५ सालमा कांग्रेस त्यागेर तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी हाल नेकपामै आबद्ध छन् ।
उनी नेकपा एमालेको इलाका सदस्य हुँदै अहिले एकीकृत भएको पार्टी नेकपाको नगर इन्चार्जसमेत रहेका छन् ।
यसअघि, उनले तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्य र जिल्ला सचिवालय सदस्यकोसमेत जिम्मेवारी निर्वाह गरेका थिए ।
गत वर्ष भएको प्रदेशसभा सदस्य निर्वाचनमा सुवेदी कैलाली क्षेत्र नम्बर–४ ‘ख’ बाट विजयी भएका थिए ।
यो पनि पढ्नोस्








प्रतिक्रिया दिनुहोस्