
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा बिहीबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको हो ।
बिहीबारको बैठकमा एकताका लागि मिलाउन बाँकी रहेका विषयहरुमा सहमति जुटाउन प्रयास गरिने नेताहरुले बताएका छन् ।
पार्टी एकताका लागि गठन गरिएको एकता संयोजन समितिले विवादित विषयमा सहमति जुटाउन नसकेपछि दुवै पार्टीका शीर्ष नेताहरुलाई जिम्मा दिइएको थियो ।
तर, पटक–पटकको छलफलपछि पनि दुवै पार्टीका अध्यक्षले ठोस सहमति गर्न नसकेपछि विवादित विषय फेरि एकता संयोजन समितिमा पुगेको छ ।
एकताका लागि सहमति गर्न बाँकी रहेका विषयलेभन्दा पनि पछिल्लो समय सरकार सन्चालनमा माओवादी केन्द्रले गरेको गुनासोले एकतामा गतिरोध आएको थियो ।
प्रधानमन्त्री ओलीले सरकार सन्चालनमा एकलौटी गरेको भन्दै सत्तारुढघटक माओवादी केन्द्र रुस्ट छ । माओवादीको त्यही असन्तुष्टिले पार्टी एकता प्रक्रिया पनि अवरुद्ध बन्यो ।
सत्तारुढ दलबीच सरकारमा देखिएको खटपटले पार्टी एकताबारे पनि विभिन्न अड्कलबाजी हुन थालेका थिए ।
तर, मंगलबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेपछि पार्टी एकताबारे भएका शंका हटेको छ ।
पार्टी एकताका विषयमा बुधबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बाँकी रहेका सहमति जुटाउन पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ ।
तर, प्रधानमन्त्री ओलीको सरकार सन्चालनको कार्यशैलीले पार्टी एकतामा अवरोध सिर्जना भएको भन्दै माओवादी केन्द्र पार्टी एकताभन्दा पहिले प्रधानन्त्रीको कार्यशैली फेरिनुपर्ने अडानमा छ ।
माओवादी केन्द्रका नेता देव गुरुङले पार्टी एकताको वातावरण सिर्जना गर्न प्रधानमन्त्रीले सरकार सन्चालनको कार्यशैली फेर्नुपर्ने बताए ।
पार्टी एकतामा अवरोध आएपनि एकता स्थगित भने नभएको दुवै पार्टीका नेताहरुको भनाइ छ ।
बुधबार भएको दुई पार्टीका अध्यक्षबीचको छलफलले पार्टी एकतामा भएको संवादहीनताको अन्त्य हुनुका साथै एकता प्रक्रियाले पनि गति लिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्