
बिहीबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नयाँ पार्टी स्थापना भएको घोषणा गरे ।
वि.सं. २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो ।
करिब ७० वर्षअघि नेकपा घोषणा गर्दा पाँचजना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने बिहीबार ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।
सो अवसरमा एक मिनेट ताली बजाएर खुसियाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।
पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भनेको ‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै ‘एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन’ भन्ने धारणा राखे ।
सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए ।
नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान दिएको बताए । उनले पार्टी हाइकमान्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिए ।
गत असोज १७ गते दुई पार्टीबीच ६ बुँदे सहमति भएर वाम गठबन्धन बनाइ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत् दुवै दल अगाडि बढेका थिए ।
दुई पार्टीले संयुक्तरुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टीपंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।
उनले दुई पार्टी विधिवत् एकीकरण भइ निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए ।
समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो ।
पार्टीको निर्देशित सिद्धान्त मार्क्सवाद र लेनिनवाद
नेकपाले शान्तिपूर्ण प्रतिस्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको मूल्य–मान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।
जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व र दीगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए ।
उनले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे । रासस
प्रतिक्रिया दिनुहोस्