
नेकपाको एकता घोषणा समारोहकाबारेमा जानकारी दिन आयोजना गरिएको विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ‘एकता प्रक्रिया देश र जनताको आर्थिक समृद्धि तथा विकासका लागि गरिएको सचेत पहल हो’–भने ।
अध्यक्ष दाहालले पार्टी एकताका लागि जनतासँग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
‘हामी जनताकासामु गरेको प्रतिबद्धताबाट विचलित हुनेछैनौं, अस्थिरताको युग अन्त्य भयो, अब सुशासन र राजनीतिक स्थिरताको युग सुरु भयो’–उनले भने ।
अध्यक्ष दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले संघर्षमा त्याग र बलिदान गरेको, क्रान्ति गरेको, पार्टी सरकारमा गएपछि भ्रष्ट, नैतिकहीन भएको स्मरण गर्दै नेपाली जनतालाई धोका नदिने, आर्दशबाट विचलित नभइ एक्काइसौं शताब्दीको भावना र चाहनालाई बुझ्नसक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सरकारका गएपछि स्खलित हुने प्रवृत्तिबाट सजग हुँदै जनताको पक्षमा काम गर्नुपर्ने र देशलाई नयाँ उचाइमा उठाएर जनताको सेवामा लागिपर्ने उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीभित्र हुर्कन थालेको अराजकता र अस्थिरतालाई निमिट्यान्न पार्नुपर्ने धारणा राखे ।
अध्यक्ष दाहालले आगामी दिन चुनौतीपूर्ण रहेको बताउँदै नेपाली जनताको चाहनालाई नै आत्मसात् गरेर अगाडि बढिने स्पस्ट पारे ।
आफूले विगतदेखि नै क्रमभंग र गुणात्मक काम गर्दै आएको उल्लेख गर्दै उनले ‘एकता प्रक्रिया महान् छलाङको अर्को रुप हो’–भने ।
अध्यक्ष दाहालले अक्सिजन र हाइड्रोजन मिलेर पानी बनेजस्तै एमाले र माओवादी केन्द्र मिलेर नयाँ कम्युनिस्ट पार्टी बनेको बताउँदै राष्ट्रिय स्वाधिनता, एकता, आत्मसम्मान, नेपाली भएर बाँच्ने प्रक्रियालाई एकता प्रक्रियाले नयाँ आधार तयार पारेको धारणा व्यक्त गरे ।
‘जेठ ३ गते नै पार्टी एकताको घोषणा गरौं’ भनेर आफूले नै प्रस्ताव गरेको बताउँदै उनले ‘वि.सं. २००६ मा गठन भएको ‘नेपाल कम्युनिस्ट पार्टी’ २०१९ सालेदेखि भोगको विभाजनको शृंखलाबाट आज नयाँ युगमा प्रवेश गरेको छ’–भने ।
अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा लैजान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने, नेपालबाट विकास र स्थिरताका सन्देश दिने दृष्टिकोणबाट यो एकता तर्कपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै देशले राजनीतिक अराजकता, अस्थिरता सहन सक्दैन, राजनीतिक अस्थिरता कायम राखियो भने त्यसले हामी सबैलाई पिरोल्छ भनेर एकता प्रक्रिया सुरु गरिएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्