१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चैत महिनामा मुद्रास्फीति ५.३ प्रतिशत, व्यापार घाटा ८ खर्ब १६ अर्ब


0
Shares

खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

तथापि, २०७४/७५ को ९ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.१ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले जनाएको छ ।

चैत मसान्तमा खाद्य मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.७ प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अन्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको जनाइएको छ ।

यस अवधिमा गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको थियो ।

यस समूहअन्तर्गत्को लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षालगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैरखाद्य मुद्रास्फीति कम हुन गएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी चैत महिनासम्ममा कुल वस्तु व्यापार घाटा २१.७ प्रतिशतले बढी ८ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा कुल वस्तु निर्यात ८.२ प्रतिशतले वृद्धि भइ ५९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो निर्यात १२.१ प्रतिशतले वृद्धि भएको थियो ।

वस्तुगत आधारमा अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जीआइ पाइप, उनी गलैंचा, पस्मिनालगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात २०.६ प्रतिशतले बढेर ८७६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९.७ प्रतिशतले बढेको थियो ।