
झापा । झापाको गौरीगन्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गर्ने तयारी सुरु भएको छ ।
प्रमुख दुई वटा भन्सार कार्यालय रहेको झापामा एउटा छोटी भन्सार कार्यालय स्तरोन्नति गर्दै तीन वटा बनाउन लागिएको हो ।
स्तरोन्नतिको तयारीका लागि भन्सार विभागको निर्देशनमा मेची भन्सार कार्यालय काँकडभिट्टाले आठमौजा छोटी भन्सार कार्यालय रहेको स्थानको स्थलगत अवलोकन गरी प्रतिवेदनसमेत तयार गरेको छ ।
भारतसँग व्यापार गर्न सहज हुने र छोटो दूरी पर्ने भएकाले आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गर्ने तयारी भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए ।
भारतले आफ्नो क्षेत्रमा सडक निर्माण सम्पन्न गरी भन्सार र बन्दरगाह निर्माणका लागि जग्गा अधिग्रहण गरिसकेको छ ।
यता, नेपाल तर्फ सिमानाभन्दा ५ किलोमिटर वर मात्र नेपाली भन्सार कार्यालय रहेकाले भन्सारलाई नाका छेउमा सार्नुपर्ने, बाँकी रहेका सडकलाई कालोपत्रे गर्नुपर्ने विषयलाई प्रमुखताको साथ राख्दै प्रतिबेदन तयार पारिएको भन्सार प्रमुख अर्यालले बताए ।
प्रतिवेदनका विषयमा आगामी मंसिर ३ र ४ गते नेपाल र भारतका भन्सार बिभाग प्रमुखको काठमाडौंमा हुने बैठकमा छलफल हुने प्रमुख अर्यालको भनाई छ ।
आठमौजा छोटी भन्सार कार्यालयबाट भारततर्फ जाँदा भारतको फत्तेपुरबाट १ सय १० किलोमिटरमा नै किसनगञ्ज पुगिन्छ ।
किसनगञ्ज भारतको एक प्रमुख व्यापारिक केन्द्र हो ।
काँकडभिट्टा नाकाबाट बंगलादेश, भुटान, सिक्किम, दार्जिलिङतिर मात्र व्यापार गर्न सकिन्छ भने यो नाकाबाट भारतको किसनगञ्ज हुँदै मुख्य भारतको व्यापारिक क्षेत्रसँग जोडिन सहज हुन्छ ।
प्रतिक्रिया दिनुहोस्