२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पिउनेपानीमा गुणस्तरको प्रश्न (भिडियो)


0
Shares

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गर्ने पिउनेपानीको गुणस्तर परीक्षण गर्ने गरिएपनि अरु निजी कम्पनीले वितरण गर्ने पानीको गुणस्तर परीक्षण गर्ने गरिएको छैन । जसका कारण उपभोक्ता दूषित पानी प्रयोग गर्न बाध्य भएका छन् ।

काठमाडौं उपत्यकामा पानी वितरण गर्ने एकमात्र सरकारी संस्था काठमाडौं उपत्यका खानेपानी लिमिटेड हो ।

तर, पछिल्लो समयमा धेरै निजी कम्पनीले पनि पानी वितरण गर्दै आएका छन् । ती कम्पनीले ट्यांकर र जारमार्फत् उपभोक्ताको घरघरमा पानी पुर्‍याउँदै आएका छन् ।

निजी कम्पनीले वितरण गर्ने पानीको गुणस्तर परीक्षण नेपाल गुणस्तर तथा नापतौल विभागले कहिलेकाहिँमात्रै गर्दै आएको छ ।

विभागले नियमित अनुगमन गर्न सकेको छैन । जसका कारण त्यस्ता कम्पनीले गुणस्तरहीन पानी उपभोक्ताको घरघरमा पुर्‍याउँदै आएका छन् ।

मुहानबाट सीधै ट्यांकरमा पानी भरेर उपभोक्ताको घरमा पुर्‍याउँदा त्यस्तो पानीका कारण झाडापखाला, आउँलगायतका समस्या उपभोक्ताले भोग्नुपरेको छ ।

उपत्यका र आसपासका पानीका स्रोतसमेत प्रदूषित बन्दै गएकाले उपभोक्ताका घरमा पुग्ने पानी पनि प्रदूषित हुने गरेको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड र केही निजी कम्पनीले पानी वितरण गर्ने आधारमा ट्यांकरमा स्टिकर लगाएपनि अरु कम्पनीले ट्यांकरमा स्टिकर लगाएका छैनन् ।

केयुकेएलले पिउनयोग्य पानीका लागि नीलो, घरायसी प्रयोजनका लागि हरियो र अन्य प्रयोजनका लागि पहेंलो स्टिकर भएको ट्यांकरको व्यवस्था गरेको छ ।

तर, केही निजी कम्पनीले त्यस्तो स्टिकरको व्यवस्था नगर्दा पानीको गुणस्तरमा प्रश्नचिह्न लाग्ने गरेको हो ।

उपत्यका खानेपानी लिमिटेड सुधार तथा गुणस्तर विभागका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरुले प्रयोगशालामा परीक्षण गरेरमात्र पानी वितरण गरेको बताए ।

दूषित पानी प्रयोगबाट रुघाखोकीदेखि जटिल खालका क्यान्सरसमेतका रोग लाग्न सक्छन् ।

उपत्यकामा पछिल्लो समयमा पानीमा देखिएका जीवाणुका कारण रोगीको संख्या बढेको चिकित्सकहरुको भनाइ छ ।

पानी वितरण गर्ने कम्पनीहरुलाई सरकारले निगरानी नगरेको होइन । तर, नियमित अनुगमन र निगरानीको अभावमा त्यस्ता कम्पनीले खुलेआम दूषित पानी वितरण गर्दा उपभोक्ता सधैं जोखिममा पर्ने गरेका छन् ।

भिडियो हेर्नुहोस्