
खैरहनी नरगपालिका–९, सुर्तनीका किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला चितवनका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाइँले जानकारी दिए ।
चौधरीले एउटै फर्ममा १५०० लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि गत वैशाख १४ गते परीक्षणका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला पठाइएको थियो ।
परीक्षणमा एच फाइभ एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाइँले बताए ।
चौधरीले पालेका सबै कुुखुरा मरिसकेका छन् ।
यस्तै, राजन चौधरीको खोरसँगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परीक्षणका लागी नमुना पठाइएको छ । त्यसको रिपोर्ट भने आउन बाँकी छ ।
संक्रमित क्षेत्र घोषणा
बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९, सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ ।
उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसार–पसारमा पनि रोक लगाइएको छ । त्यस क्षेत्रमा रहेका पक्षी सुरक्षितरुपमा नस्ट गरिएको छ ।
सतर्कता अपनाउन आग्रह
पशुसेवा कार्यालय चितवनले कुखुराको खोरहरु सफा गर्न पालक किसानसमक्ष अनुरोध गरेको छ ।
पशु चिकित्सक डा. डिल्लीराम सेढाइँले सो क्षेत्रमा बर्डफ्लु भेटिएपछि सचेतना अपनाइएको बताए ।
सो जीवाणु मानिसमा पनि सर्नसक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको उनले बताए ।
चितवनमा यसअघि वि.सं. २०७० सालमा बर्डफ्लु भेटिएको थियो । जसका कारण सो समयमा चितवनमा ठूलो संख्यामा कुखुरा मरेका थिए ।
नेपालमा हालसम्म कुखुराजन्य क्षेत्रमा करिब ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्