७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


झण्डै चार सय वर्ष पुरानो कार्तिक नाच शुरु


0
Shares

काठमाडौं । पाटनको ऐतिहासिक कात्तिक नाच शुरु भएको छ । झण्डै चार सय वर्ष अघि शुरु भएको कात्तिक नाच पाटन दरवार परिसरमा रहेको कात्तिक डबलीमा शुरु गरिएको हो ।

पहिलो दिन आज बाथः प्याखं अन्तर्गत ‘लेवः लायेगु’ नाटक देखाइएको छ ।

यस नाचमा कृष्ण लिला, शास्त्रीय नाच, लोक नाटक, उषाहरण लिला, जलशयन, बराह अवतार, नृसिँह अवतार, वस्त्रहरण र दधि लिला लगायतका नाचहरु देखाइने छ ।

राजा सिद्धिनरसिंह मल्लले शुरु गरेको यो नाचलाई संसारकै लामो नाट्य परम्पराको रुपमा लिने गरिन्छ ।

सिद्धिनरसिंह मल्लले कृष्णलीलामा आधारित नाचहरु प्रदर्शन गरी एक साता चलाएको र उनका छोरा श्रीनिवास मल्लले लोक नाटकहरु थपेर १५ दिन पुर्‍याएको बताइन्छ ।

श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाचहरु थपी एक महिना सम्म प्रदर्शन गर्ने परम्परा बसालेको इतिहासमा उल्लेख छ ।

पछि आर्थिक अभाव लगायतका कारणले यो नाच २ दिनमा समेत सिमित हुन पुग्यो । हाल भने नाच १२ दिनसम्म मञ्चन गर्ने गरिएको छ ।

एक महिना मञ्चनको परम्परा निरन्तर गर्ने उद्देश्यका साथ लागिपरेको कार्तिक नाच संरक्षण समितिले नाच शुरु गर्न गुरु, कलाकार, वाद्यवादकहरुको उपस्थितिमा नासः द्यः पूजा समेत हिजो सम्पन्न गरेको थियो ।