१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


यसकारण डीआइजी नै प्रदेश प्रहरी प्रमुख, कहाँ–को ? (भिडियो)


0
Shares

सोहीअनुसार प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा थाँती राखेर सरकारले १६ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गरेको छ ।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई संघीय संरचनामा लैजाने गृहकार्य जारी राखेका बेला सरकारले १६ जना एसएसपीलाई डीआइजीमा बढुवा गरेको छ ।

प्रदेश प्रहरी प्रमुख एआइजी या डीआइजी कसलाई बनाउने भन्ने अन्योल रहेकै बेला सरकारले डीआइजीलाई नै प्रदेश प्रहरी प्रमुख बनाउने योजनाअनुसार बढुवा गरेको हो ।

प्रदेश प्रमुखको जिम्मेवारी डीआइजीलाई दिने तयारी भएपनि नेपाल प्रहरीमा कतिजना डीआइजीको दरबन्दी सिर्जना गर्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

तर, तत्कालका लागि १६ जनालाई डीआइजीमा बढुवा गरेर उनीहरुलाई नै प्रदेशमा खटाउने योजनाअनुसार सरकारले निर्णय गरेको बताइएको छ ।

यही कारणले पनि एआइजी बढुवा प्रक्रिया तत्कालका लागि रोकिएको छ । बढुवा भएर फुली लगाइसकेका डीआइजीमध्ये केहीको पदस्थापन भइसकेको छ । केहीलाई आवश्यकताअनुसार खटाउने तयारी सरकारको छ ।

जसअनुसार महानगरीय प्रहरी कार्यालयमा मनोज नेउपाने, एकेडेमीमा पुष्कर कार्की, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमल जिटी, मानवस्रोतमा ज्ञानविक्रम शाह, कार्य विभागमा छविलाल जोशी, प्रदेश नम्बर–१ मा केदार रिजाल, प्रदेश–२ मा दिनेश अमात्य, प्रदेश–३ मा दीपककुमार थापा, प्रदेश–४ मा दानसिंह बोहरा, प्रदेश–५ मा शेरबहादुर बस्नेत, प्रदेश–६ मा सुरेशविक्रम शाह र प्रदेश–७ मा शरद चन्दको पदस्थापन भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेशमा एआइजी पठाउँदा ‘चेन अफ कमान्ड’मा अप्ठ्यारो पर्ने भएकाले प्रदेश प्रहरी प्रमुखमा डीआइजी नै पठाउने निर्णय गरेर पदस्थापन गरिएको बताए ।

त्यसैगरी, सीआइबीमा नारायणसिंह खड्का, विशेष ब्यूरोमा पिताम्बर अधिकारी, अपराध अनुसन्धान विभागमा धिरु बस्न्यातको पदस्थापन भएको छ ।

गृहले लागुऔषध नियन्त्रण ब्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागको प्रमुखमा पनि नयाँ डीआइजीलाई पठाउने तयारी गरेको छ ।

नेपाल प्रहरीमा अब कतिजना एआइजी राख्ने भन्ने निर्णय हुन सकेको छैन । एआइजीको दरबन्दी टुंगो लागेपछि अहिलेकै डीआइजीबाट केहीको एआइजीमा बढुवा हुनेछ । एआइजीको दरबन्दी टुंगो लागेपछि सरकारले बढुवासँगै पदस्थापनसमेत गर्नेछ ।

भिडियो हेर्नुहोस्