बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन् • Image Khabar Image Khabar


बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार १८:४४

बर्डफ्लु संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर–९, सुर्तनीका दुई फार्ममा बर्डफ्लु प्रमाणित भएपछि त्यस क्षेत्रमा टोली घरपालुवा पक्षी मार्न पुगेका थिए ।

जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. चेतनारायण खरेलकाअनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्चीबाटो र पश्चिममा पर्साबजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

संकटग्रस्त क्षेत्रमा पर्ने धीरज श्रेष्ठ र सुरेश रिजालका दुई खोरका कुखुरा मार्नेक्रममा किसानले रोकेका हुन् ।

प्रमुख डा. खरेलकाअनुसार ९ हजार लेयर्स कुखुरा रहेको श्रेष्ठको फार्मको तीन हजार ५०० र चार हजार ४०० कुखुरा रहेको रिजालको खोरको एक हजार कुखुरा मारेपछि उनीहरुले थप कुखुरा मार्न दिएका छैनन् ।

किसानले प्राविधिक टोलीले निर्धारण गरेको संकटग्रस्त क्षेत्र पूर्वाग्रही भएको भन्दै रोकेको जनाएका छन् । उनीहरुले नजिकै रहेका ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मार्न थालेको भन्दै त्यसको विरोध गरेका हुन् ।

पूर्वी चितवन कुखुरा व्यवसायी मन्चका निवर्तमान अध्यक्ष एवं नेपाल अन्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष रघुनाथ भट्टले प्राविधिक टोलीले निर्धारण गरेको क्षेत्रमध्ये एकातर्फ तीन किलोमिटरसम्म टाढा रहेको र अर्काेतर्फ २०० मिटरसम्ममात्रै रहेको कारण किसान असन्तुष्ट भएको बताए ।

हाल कुखुरा मार्दै गरेको फार्म एक किमि ३०० मिटर टाढा रहेको भन्दै प्राविधिक टोलीले ठूला फार्मलाई जोगाएर क्षेत्र निर्धारण गरेको किसानको गुनासो रहेको उनले बताए ।

क्षेत्र हेर्नेक्रममा स्थानीय किसानलाई सहभागिता नगराएका कारण पनि समस्या भएको भट्टको भनाइ छ । उनले किसान र सरकारी टोली बसेर समस्याको समाधान खोजिने बताए ।

मारिएका कुखुराको मूल्यांकन गरेर पठाएको क्षति रकममध्ये ७५ प्रतिशतमात्रै क्षतिपूर्ति किसानले पाउने व्यवस्था छ । त्यसका लागि पनि समय लाग्ने र झन्झटिलो हुने हुँदा जोखिम नभए किन कुखुरा मार्ने भन्ने पक्षमा किसान देखिएका छन् ।

प्राविधिक टोलीले सोही क्षेत्रमा शुक्रबार स्थानीय जातका कुखुरा र हाँस गरी १५० ओटा मारेको थियो । कुखुराको सुली पनि सुरक्षितरुपमा व्यवस्थापन गरिएको थियो ।

प्रमुख डा. खरेलले बर्डफ्लु नियन्त्रण आदेश २०६४ ले पहिले बर्डफ्लु देखिएको क्षेत्रबाट तीन किमि उल्लेख गरेको भएपनि जोखिम विश्लेषण गरेर चार किल्ला तोक्नसकिने बताए । सो प्रतिवेदनलाई मन्त्रिस्तरीय निर्णय गरेपछि घरपालुवा पक्षी मार्ने गरिन्छ ।

सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको हो ।

राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाइँले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताए ।

बिहीबारको मन्त्रिस्तरको निर्णयपछि शुक्रबार फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम सुरु गरिएको थियो ।

राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेका छन् ।

नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखापरेपछि नेपालमा उच्च सतर्कता अपनाइएको थियो तर पनि यहाँ बर्डफ्लु देखिएको हो ।

कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी रहेको छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ ।

यसअघि, वि.सं. २०७० मा जिल्लामा बर्डफ्लु देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्