२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


९ वर्षअघि वधशाला निर्माण भए पनि अझै प्रयोगविहीन


0
Shares

सर्लाही, जेठ ६ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको वडा नं. २ मा पशु वधशाला निर्माण भएको वर्षौं बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।

९ वर्षअघि स्थानीय रामकविर मठले नगरपालिकालाई दान गरेको जग्गामा सात लाख रुपैंयाँ खर्चेर निर्माण गरिएको वधशाला प्रयोगमा आउन नसकेको हो ।

पशु काटमार गर्ने छुट्टै ठाउँ भए पनि मासु व्यापारीले बजार क्षेत्रमा जथाभावी पशुपंक्षी र जनावरको वध गर्दै आएका छन् । मनलाग्दी खोलिएका वधशालाको उचित व्यवस्थापन तथा सरसफाइमा ध्यान नदिएका कारण नाकमुख थुनेर बस्नुपर्ने बाध्यता रहेको स्थानीय श्यामबाबु यादवले बताए ।

मासु व्यापारीले नगरपालिकाले बनाइदिएको वधशाला सुरुमा एक÷दुई महिनासम्म मात्र प्रयोग गरेका थिए । वधशाला बजार क्षेत्रभन्दा टाढा भएको र ग्राहक पनि कम आउने भन्दै उनीहरुले वधशाला प्रयोग गर्न छाडेका हुन् ।

बर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त वधशालाको हाताभित्र अहिले जुवातास खेल्ने, पशुचौपाया बाँध्ने र गाउँलेले फोहर फाल्ने गरेका छन् ।

मलंगवा नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामउजैन यादवले व्यापारीहरु नै वधशालामा गएर मासु बेच्न तयार नभएकाले पुनः प्रयोगमा ल्याउन समस्या भइरहेको बताए ।

मलंगवा नगरपालिका क्षेत्रमा खसी तथा कुखुराको अव्यवस्थित रुपमा तीन दर्जनभन्दा बढी मासु पसल सञ्चालनमा छन् ।