
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत् गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममा हाल निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई निर्माण सम्पन्न गरी सन्चालनमा ल्याउने उल्लेख छ ।
हाल सो विमानस्थलको निर्माणकार्य ४० प्रतिशत सम्पन्न भएको छ ।
आयोजना प्रमुख ओम शर्माकाअनुसार विमानस्थल निर्माण प्रक्रियाले गति लिएकाले आगामी एक वर्षभित्र सकिनेछ ।
यस्तै, धावनमार्ग, टर्मिनल भवन, टावरलगायतको कामसमेत सम्पन्न हुने चरणमा पुगेको छ ।
‘धावनमार्ग, पार्किङस्थल, टर्मिनल भवन आगामी मंसिर मसान्तभित्र सम्पन्न हुनेछ’–आयोजना प्रमुख शर्माले भने–‘आगामी असोजदेखि धावनमार्ग कालोपत्र गर्ने काम सुरु गरिनेछ, बढीमा ६ महिनाभित्र धावनमार्ग कालोपत्र भइसक्नेछ ।’
एसियाली विकास बैंक, नेपाल नागरिक उड्डयन प्राधिकरणको करिब रु सात अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिको प्रमुख आधारकारुपमा लिइएको छ ।
सरकारले सन् २०३० सम्म करिब ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको र सन् २०२० सम्म १५ लाख पर्यटक पुर्याउने कार्यक्रम तय गरेको छ । सन् २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए ।
सन् २०१८ को चार महिनामा करिब चार लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
आर्थिक समृद्धिको प्रमुख आधारकारुपमा पर्यटन क्षेत्रलाई लिइएको हुँदा सरकारले विमानस्थल निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
यस्तै, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य पनि राखिएको छ ।
सरकारको सोमबार सार्वजनिक नीति तथा कार्यक्रममा पोखरा विमानस्थल निर्माणलाई तीव्र पारी पर्यटन प्रवद्र्धनमा योगदान दिने उल्लेख छ ।
कुल २२ अर्ब लागतमा निर्माण भइरहेको सो विमानस्थल प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला शिलान्यास गरेका थिए ।
सो विमानस्थलको दुई हजार ५०० मिटर लामो धावनमार्ग, एक हजार २०० मिटर लामो ट्याक्सी पार्किङस्थल, १० हजार वर्गमिटरको अन्तर्राष्ट्रिय टर्मिनल भवन, पाँच हजार वर्गमिटरको आन्तरिक टर्मिनल भवनहरु निर्माण हुनेछन् ।
चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण सुरु गरेको चार वर्षभित्रमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सो विमानस्थल अत्यन्तै महत्वपूर्ण हुनेछ ।
सरकारको प्रतिबद्धताअनुसार तोकिएको समयमा विमानस्थल निर्माणकार्य सम्पन्न गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलेसमेत विशेष जोड दिएको बताएको छ ।
प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले निर्माणाधीन विमानस्थलको कामलाई तोकिएको समयमा पूरा गराउन प्राधिकरण लागिपरेको बताए ।
उनले भने–‘राष्ट्रिय लक्ष्य पूरा गर्न र सरकारको सोचलाई पूरा गराउन प्राधिकरणले हदैसम्मको प्रयास गर्दछ ।’
यस्तै, बाराको निजगढमा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सो विमानस्थल कुन ढाँचामा निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समयभित्रै आवश्यक निर्णय गर्ने जनाएको छ ।
हाल नेपाली सेनाले सो विमानस्थलको चार किल्ला घेर्ने, निर्माणस्थलको सुरक्षा, रुख कटानलगायतको काम अगाडि बढाएको छ ।
लामो समयदेखि कुन ढाँचामा विमानस्थल निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा विमानस्थल निर्माण प्रक्रियाले गति लिन सकेको थिएन ।
सरकारले नीति तथा कार्यक्रममा नै सो विमानस्थल निर्माणकार्यलाई गति दिने विषय समावेश गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र, हवाईमार्ग र विमानस्थलको पुनःसंरचना, स्तरवृद्धि र विस्तार गर्ने विषयसमेत सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस्तै, सन्चालनमा रहेका आन्तरिक विमानस्थलको स्तरवृद्धि र धावनमार्ग सुधार तथा विस्तार गर्ने लक्ष्यसमेत राखिएको छ ।
नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन उच्चतम् प्रविधिको प्रयोग गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र पर्यटकअनुकूल सेवा–सुविधाको विस्तार गर्ने लक्ष्य राखेको छ ।
गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्ने नीति लिएको सरकारले प्रचलित पर्यटकीय गन्तव्यको विकास र स्तरोन्नति गरी थप पर्यटकीय गन्तव्य पहिचान र विकास गर्ने कार्यक्रमलाईसमेत प्रमुख प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्