
यही जेठ ४ गतेदेखि लागू भएको यो नियमपछि अहिलेसम्म २६२ ओटा माइक्रो र ९२ ओटा सफाटेम्पो कारबाहीमा परेका छन् ।
उपत्यकामा ५ हजार ३०० टेम्पो र ४ हजार १९१ ओटा माइक्रोबस सन्चालनमा रहेको तथ्यांक यातायात व्यवस्था कार्यालयसँग रहेको छ । दैनिक ११ लाख यात्रीहरुले यी सवारी–साधनको प्रयोग गर्ने गर्दछन् ।
तर, यी सवारी–साधन प्रयोग गर्ने यात्रीहरुले दुर्व्यवहार र सास्ती व्यहोर्नु सामान्यजस्तै हो ।
ढिलै भएपनि ट्राफिक प्रहरीले १८ सिटभन्दा तल सिट क्षमता भएका सवारी–साधनलाई क्षमताभन्दा बढी यात्री बोक्न नपाउने नियम लागू गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तले अन्य सार्वजनिक सवारी–साधनमा पनि यो नियम लागू गरिने भन्दै अब यात्रीहरुले उभिएर यात्रा गर्नुपर्ने दिनको अन्त्य भएको बताए ।
सार्वजनिक सवारी–साधनमा दिनहुँ कस्ट झेलेर यात्रा गरिरहेका यात्रीहरु भने अझैपनि आफूहरु उभिएर यात्रा गर्नुपरिरहेको बताउँछन् । नियममात्र बनाएर नहुने भन्दै उनीहरु ठूला गाडीहरु पनि थप्नुपर्ने बताउँछन् ।
यता, यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख टोकराज पाण्डे पनि साना सवारी–साधनका सिट यात्रीहरुका लागि पर्याप्त नभएको बताउँछन् ।
उनले सिट क्षमताभन्दा बढी यात्री बोक्ने सवारी–साधनलाई कारबाही गर्ने नीतिले साना सवारी–साधन विस्थापित गर्ने सरकारको नीति कार्यान्वयन गर्न पनि सजिलो हुने बताए ।
प्रतिक्रिया दिनुहोस्