२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालको पर्यटनमा नन्दुकुमार पुनले देखेको स्वर्णिम सपना


0
Shares

-युवराज गौतम/ईमेज:

काठमाडौं । हुनत नन्दुकुमार पुन(५०)लाई जवान छँदा लाहुर जाने सोच थियो । गाउँका कतिपय स्कुले सहपाटी र आफन्त ब्रिटिस भर्तीतिर लागेपछि नन्दुकुमारलाई लाहुर जाने हुटहुटी नभएको होइन । तर समय, काल र परिस्थितिले उनलाई बेग्लै बाटोमा मोडिदियो । सोच र सपनाहरु बदलिए । विदेशी भूमिमा हैन आफ्नै माटोमा रमाउने जाँगर पलाएर आयो । सामान्य परिवारमा जन्मिएका ६ भाई दाजुभाइ मध्येका माइला नन्दु सन् १९८८ मा ‘काठमाडौं खाल्डो’मा उत्रिएपछि संघर्ष गर्दागर्दै कपाल फुलाइसेका छन् ।

पर्वतको जलजला–६, सालिजाबाट किशोरअवस्थामा काठमाडौं भित्रिएपछि नन्दुले सामान्य जागिर मात्र गरेनन अरुको घरमा कामदार बनेर पनि पढाइ खर्च र पेट पाल्ने मेसो बनाए । अमृत साइन्स क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका नन्दुले करियरको सुरुवाती ‘शेर्पा गाइड’ बाट गरे । उसबेलाको आमाडप्लम कम्पनीमा आबद्ध भएर ट्रेकिङ गाइडको काम सुरु गरेका उनले पर्यटन व्यवसायलाई नै कालान्तरसम्म निरन्तरता दिइरहेका छन् ।

विश्वका डेढ दर्जन मुलुक घुमेर त्यहाँको पर्यटन बुझेका नन्दु नेपाललाई ‘स्वर्गको टुक्रा’ उपमा दिन रुचाउँछन् । प्राकृतिक सुन्दरता, बनस्पती, स्वच्छ खोलानाला, सेताम्मे हिमाल, राताम्मे लालिगुँरास र साहसिक खेल पर्यटनका धरोहरका रुपमा लिएर नेपालले आर्थिक समृद्धीमा छलाङ मार्न सक्ने उनको बुझाइ छ । काठमाडौं बसेर काठमाडौं आसपासका डाँडामा मात्र पर्यटक भुल्याउने प्याकेजलाई परिवर्तन गरी देशका कुनाकन्दरासम्म पर्यटक पुर्‍याउनुपर्ने उनी बताउँछन् ।

नेपालले प्राकृतिक सुन्दरता नै बेच्ने हो । तर सिमित स्थानको होइन पूर्व–पश्चिम हिमाल, पहाड तराईको सम्भावनाहरु केलाउनुपर्छ । नेपालमा अरबमा फुल्ने बुकीफुलदेखि सबैखाले बनस्पती पाइन्छ । त्यसैले विश्वका मानिसहरुलाई नेपाल भित्र्याउनु कुनै ‘महाभारत’ पर्खिनु पर्दैन् । तर सरकारको निती र योजना अनि ब्यवसायीको दृढ संकल्प चाहिने उनको बझाइ छ । योजना कागजको पानामा सिमित भएर हुँदैन्, सरोकारवाला र व्यवसायी अनुभुत गर्न पाउनुपर्ने नन्दुको बुझाइ छ । यसैमेसोमा पुनले हामीसँग पर्यटन र विकासका संभावनाका आधारहरु साटेका छन् ।

बनस्पतीको सुगन्ध र जंगलभित्र रिसोर्ट

नेपालका जंगलमा सयौं प्रकारका बनस्पती पाइन्छन् । अझ पहाडी क्षेत्रका जंगलमा पाइने बनस्पतीको सुगन्ध पर्यटकका लागि ‘फेब्रेट’ हुन । ग्रामीण स्तरमा सडक विस्तार भएपछि ट्रेकिङ रुटहरु ओझेल परिरहेका कारण सुनसान र सुन्दर डाँडा र बंन जंगलभित्र रिसोर्टहरु खोल्नुपर्ने पुनको सुझाव छ । जहाँ पर्यटकहरु हर्बलको सुगन्धमा रमाउँदै रिसोर्टमा आनन्द गर्न सकुन् ।

विशेष गरी पर्यटकहरुले सुनसान र एकान्त स्थान रोज्ने भएकाले हरियाली र प्राकृतिक सुन्दरताले भरिएको पहाड र हिमालका फेदिमा रहेका हराभरा बन जंलभित्र रिसोर्ट र सानातिना कटेजहरु संचालन गर्न सरकारले व्यसायीलाई प्रोत्साहित गर्न सक्नुपर्छ ।

२ देखि ३ हजार मिटरको उचाइमा यस्ता रिसोर्टहरु उपयुक्त देखिन्छन । किनकी पैसा कहाँ खर्च गरौं भनिरहेका पर्यटकहरु यहाँ गएर स्वर्णिम आनन्द लिन सक्ने उनको बुझाइ छ । पूर्वदेखि पश्चिमसम्मको लालीगुँरास फुल्ने प्रकृति, खोलानाला, हिमाल र फाँटहरु देख्न सकिने स्थानमा रिसोर्ट संचालन गर्न सकिने नन्दुको धारणा छ ।

दोस्रो तहका पर्यटकलाई प्राथमिकता

विश्वका विभिन्न देशबाट नेपाल घुम्न आउने पर्यटक भनेका दोस्रो र तेस्रो तहका हुन्छन् । पहिलो तहका पर्यटक भनेका हाइ लेभलका र लक्जरी लाइफ विताउने खालका हुन्छन् । उनीहरुका निम्ती नेपालमा विमानस्थल देखि होटलहरुको अभाव छ । त्यसैले दोस्रो तहका पर्यटकहरुलाई नेपालमा भित्र्याउन सकिन्छ । त्यस्ता पर्यटकहरु नेपालमा हनिमुन र होलीडे मनाउन आउने गरेका छन् ।

त्यसैले सरकारले सोही स्तरका पर्यटकलाई प्राथमिकता दिएर विश्वभर प्रचार गर्न सक्नुपर्छ । साथै निजी लगानीका कम्पनीहरुले ति पर्यटकलाई नेपालसम्म तान्न सोही अनुरुपका प्याकेजहरु तयार पार्न सक्नुपर्छ । ३० बर्षे पर्यटन व्यवसायको दौरानमा नन्दुले नेपाललाई अत्तिनै माया गर्ने र प्रकृतिसँग रमाउने पर्यटक भेटेको अनुभव सुनाउँछन् । त्यस्ता पर्यटकको स्वभाव स्वच्छ र सहयोगी भावनाको हुनाले नेपाली गाउँहरुमा आर्थिक सहयोग पनि गर्ने गरेको उनी सुनाउँछन् ।

हम्पाल डाँडामा प्याराग्लाइडिङ

nandu4

पर्वत जिल्लाको हम्पाल डाँडाबाट प्याराग्लाइडिङ उडाएर विश्वभरका पर्यटक तान्ने योजना नन्दुकुमार पुनको पुरानै हो । सन् २०१४ मा नै उनको नेतृत्वमा संभाब्यता अध्ययनका लागि सानुबाबु सुनारसहितको टोली अध्ययन गरेर प्रक्रिया अघि बढाइसकेको छ । बृत्तचित्र पनि तयार भएको छ । ३२ मिटर हाइटबाट फ्लाइट गर्नुपर्ने हम्पालबाट उनले विभिन्न समयमा नौं वटा फ्लाइट गराइसकेका छन् ।

निकट भविष्यमा उक्त स्थानबाट व्यवसायिक उडान सुरु गरेर विश्वभरका पर्यटकलाई हम्पाल भित्र्याउने उनको सपना छन । त्यसबाहेक नन्दु र जुद्ध गुरुङको अगुवाइमा तयार भएको पर्वत जिल्लाको पर्यटन गुरुयोजनाको कामले पनि स्थान पाएको छ । तर यी सबै काम स्थानीय समुदायबाट नै होस र स्थानीयले नै पहलकदमी लिउन भन्ने उनको सुझाव छ ।

नेपालको खानेपानी विश्वभर सप्लाइ

नेपाल जलस्रोतको धनी देश भएकाले नेपालका खोलानालामा पाइने स्वच्छ पानीलाई प्रशोधन गरेर विश्वभर ब्यापार गर्न सकिने उनको बुझाइ छ । कुवेत, कतार जस्ता देशले तेल उत्पादन गरेजस्तै र बंगलादेशले विश्वभर ग्यास बेचेजस्तै नेपालले पनि खानेपानी बेच्न सक्नुपर्ने उनको सुझाव छ ।

सरकारले पानी व्यवसायलाई अघि बढायो भने विदेशमा रहेका सबै नेपालीलाई स्वदेश ल्याएर रोजगारी दिन सकिने उनको सपना छ । कृषि कर्मबाट पनि नेपालीले विदेशमा गएर पसिना बगाउनुपर्ने अवस्थाबाट मुक्त पाउन सक्छन् पानीको कारोबार विश्वमा सबैभन्दा धेरै हुने भएकाले नेपालमा पानी उद्योग खोल्नुपर्ने उनको सुझाव छ ।

रेल, केवलकार र संकल्प

नेपालका तराई देखि हिमालसम्म रेल कुदाउने योजना तयार पारेर काम अघि बढाउन सकियो भने देशले छलाङ मार्न सक्नेमा नन्दुकुमार विश्वस्त छन् । त्यसबाहेक पर्यटकीय स्थलसम्म पुग्न विभिन्न स्थानमा केबलकार संचालन गर्नुपर्ने उनको बुझाइ छ ।

त्यसबाहेक मान्छे सफल हुनका लागि दृढ संकल्प र संघर्ष आवश्यक रहेकाले सबैले देशका लागि कार्य गर्न पनि उनी सुझाव दिन्छन् । मेहेनत र निरन्तरताले सफलता पाउँन सकिनेमा उनी दृढ छन् । उनी हरेक नेपालीलाई एकपटक नेपाल घुम्न सल्लाह दिन्छन् । नेपालमा जात, धर्म, प्रकृति मिलेर बसेका नेपालीहरुको अवस्था बुझेर नेपाललाई स्वर्ग बनाउन विदेशी भूमिमा रहेका तन्नेरीहरुलाई पनि नेपाल फर्किन आब्हान गर्छन ।

सहयोगी मन

नन्दुकुमार पुन एक पर्यटन व्यवसायी मात्र होइनन, मनकारी समाजसेवी पनि हुन । उनी विभिन्न सामाजिक संघसंस्थामा रहेर गरिब, दुःखी, असहासको सेवा तथा गाउँ विकासको क्षेत्रमा सक्रिय छन् । गाउँका क्लब, मन्दिरहरुलाई प्रशस्त आर्थिक सहयोग जुटाएर उनले गुन लगाएका छन् । त्यसबाहेक २०५६ सालमा सालिजामा फुटबल खेल निर्माण गरेर धेरैको ताली पाएका छन् । काठमाडौंका अस्पतालमा आर्थिक अभावमा छटपटाइरहेका विरामीलाई सहयोग जुटाएर पुन्य कमाएका छन् ।