
केदार कटुवाल/ईमेज:
उदयपुर, जेठ ९ । राष्ट्रिय गौरवको योजना अन्तर्गतको चतरा-भीमान सडक खण्डको सातधारेमा वडाध्यक्षले निर्माण कम्पनीका इन्जिनियरलाई हातपात गरेपछि निर्माण कार्य ठप्प भएको छ ।
चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कमलध्वज राईले सडकमा घर परेपछि एलाइमेन्ट परिवर्तन गर्न दबाब दिंदै आएका थिए । तर इन्जिनियरहरुले त्यस्तो परिवर्तन अहिले तत्काल संभव नभएको बताएका थिए ।
विवाद बढेपछि वडाध्यक्ष राईले ह्याभी इक्यूमेन्टको साँचो खोज्दै इन्जिनियर सन्दिप विष्ट र किशोर केसीमाथि मुक्का बर्षाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
१ सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एन्ड शर्मा जेभीका इन्जिनियरहरुलाई वडाध्यक्षले यसरी मुक्का हानेका हुन ।
निर्माण कम्पनीले भने चतरा–गाइघाट–कटारी–सिन्धुली– हेटौडा सडकको पूर्वी खण्डमा एलायमेन्ट परिवर्तन गर्न प्राविधिक कठिनाई भएको बताउँदै आइरहेको छ ।
यही विवादका कारण उक्त सातधारे सडकखण्ड चार महिनादेखि निर्माण अवरुद्ध भइरहेको छ ।
यद्यपी, वडाध्यक्ष राईले भनेजस्तो एलाइमेन्ट परिवर्तन गर्न नजिकै रहेको बन विनास हुने र बनभित्रबाट सडक विस्तार गर्न वन कार्यालयले स्वीकृती समेत नदिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्