
दमौली, कात्तिक २५ । पृथ्वी राजमार्गअन्तर्गत् तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा आइतबार दिउँसो यात्रीवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नम्बरको बस राजमार्गछेउबाट खस्दा ३७ जना घाइते भएका हुन् ।
घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनकाअनुसार घाइतेमध्ये चारजनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
सोही बसमा यात्रा गरेका भीमादका सूर्यकुमारी रानाकाअनुसार बसमा यात्री खचाखच थिए ।
‘दमौली आइपुग्नुभन्दा केहीयता यात्री चढाउन बस रोकिएको थियो । त्यो बेला चालक निदाउन खोजेको हो किजस्तो देखिएको थियो’–उनले भनिन् । रासस
प्रतिक्रिया दिनुहोस्