२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मुलुकलाई चाहिने जनशक्तिमात्र उत्पादन गर्छौं : प्रधानमन्त्री


0
Shares

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौं कान्तिपुर हिसान शैक्षिक मेला’को बिहीबार उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भएपनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए ।

उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे ।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले उल्लेख गरे ।

‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौं’–उनले भने–‘अब हामी मुलुकलाई चाहिने जनशक्तिमात्र उत्पादन गर्छौं । ती जनशक्तिले आमाबुवाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिकामात्र निरक्षर रहने बताए ।

‘निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैनन्’–उनले भने–‘निजी शिक्षण संस्था नोक्सानमा जानोस् भनेर भनेको होइन, धेरै नाफा नखोज्नोस् भनेको हुँ ।’

प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभइ लोकप्रिय काम गर्न बनेको पनि स्पस्ट गरे ।

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताए ।

उनले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराए ।

स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमन्डपमा तीन दिनसम्म सन्चालन हुने यस मेलामा करिब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ । रासस