काठमाडौं, कात्तिक २५ । काठमाडौं महानगरपालिकाले पैदलयात्रीको चाप बढी भएका स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशेपुल निर्माण गर्ने भएको छ ।
कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशेपुल निर्माण गर्न छुट्याएको छ ।
यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले बताए ।
यी दुईबाहेक अरु कुन स्थानमा आकाशेपुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ ।
उनले भने–‘माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।’
पहिलो चरणमा यी दुई स्थानमा आकाशेपुल निर्माण गरिनेछ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुवै स्थानमा निर्माण गर्न लागिएको पुलका लागि नमुना तयार भइसकेको छ ।
छठलगत्तै निर्माणका लागि बोलपत्र आह्वान गरिने इन्जिनियर थापाले बताए ।
चालू आवमा पैदलयात्रीको अत्यधिक चाप देखिएका ८ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशेपुल निर्माण गर्ने कामपाले योजना बनाएको थियो ।
उपत्यकाकै सबैभन्दा बढी यात्रीले बाटो काट्ने सडककारुपमा रहेको नयाँबानेश्वर चोकमा भने तत्काल आकाशेपुल बनाउने योजना महानगरको छैन ।
प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै यस स्थानमा विकल्पको खोजी भइरहेको इन्जिनियर थापाले बताए ।
उनले भने–‘सब–वे निर्माण गर्न सकिन्छ कि भन्ने हामीले छलफल गरिरहेका छौं ।’
दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रीको सहजताका लागि कामपाले एक ठाउँबाट अर्काे ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो ।
ट्राफिक प्रहरी र सडक विभागसँगसमेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ ।
आकाशेपुल बनाउने अन्य सम्भावित स्थानकारुपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगन्ज, कोटेश्वर, गौशाला चोक रहेका छन् ।
सवारी–साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रीलाई बाटो काट्न समस्या पर्दै आएको छ ।
पैदलयात्रीले जथाभावी बाटो काट्दा सवारीचापको अवस्था देखिँदै आएको छ ।
इन्जिनियर थापाले भने–‘एकातिर पैदलयात्रीलाई बाटो काट्न सजिलो हुन्छ भने अर्काेतिर ट्राफिक व्यवस्थापन सहज हुनेमा शंका छैन ।’
अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशेपुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ ।
महानगरले यसअघि निर्माण गरेको आकाशेपुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।
सहरको सुन्दरतालाई ध्यान दिँदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ ।
यसअघि, स्थानान्तरण गर्न सकिने पुल पहिलोपटक परीक्षणकारुपमा पुरानो बसपार्क अगाडि बनेको थियो ।
अहिले कामपाभित्र सुन्धारा, नयाँसडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशेपुल सन्चालनमा छन् । रत्नपार्कमा एउटा सब–वे छ ।
भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । वीर अस्पतालअगाडिको पुल अत्यन्त जीर्ण छ ।
कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । सबै पुराना पुल मर्मतका लागि पनि महानगरले समन्वय गरिरहेको छ ।
कामपाले चालू आव २०७५/७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत् गरेको थियो ।
जसअन्तर्गत् भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ । रासस









प्रतिक्रिया दिनुहोस्