
काठमाडौं, कात्तिक २५ । चाडबाड मनाउन गाउँ गएकाहरु फर्कन थालेपछि काठमाडौंमा फेरि चहलपहल बढेको छ । दशैं र तिहार मनाउन ठूलो संख्यामा सर्वसाधारण गाउँ गएपछि केहि दिन सुनसान देखिएको काठमाडौं चाड पर्व सकिएसँगै भीडभाड देखिन थालेको हो ।
काठमाडौं भित्रिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बल्खु, माछापोखरीलगायत क्षेत्रमा यातायातको चाप बढेको छ । नयाँ बसपार्कमा काठमाडौं भित्रिने सर्वसाधारणको भीड लागेको छ भने सवारी साधन पनि भरिभराउ हुन थालेका छन् ।
काठमाडौंबाट बाहिरिने सवारी साधन भने खाली खाली फर्कनु परेको यातायात व्यवसायीहरुले बताएका छन् । काठमाडौ भित्रिने मुख्य नाकाहरुमा सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापन कडा गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी प्रमुख दयाकृष्ण भट्टले काठमाडौं भित्रिने सवारीसाधन बढ्न थालेपछि ट्राफिक व्यवस्थापन पनि कडा पारिएको जानकारी दिए ।
काठमाडौंको दरबारमार्ग, जमल, पुतलीसडक, नयाँबानेश्वर, चाबहिललगायत भित्री सडकहरुमासमेत सवारी चाप बढेकाले ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्