पेरिस, कात्तिक २५ । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रों र जर्मन चान्सलर एञ्गेला मर्केलले मेलमिलापूर्ण व्यवहार देखाउदै प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झना गरेका छन् ।
सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा रेलमा गरिएझैँ दुई नेताले प्रतीकात्मक रूपमा रेलमा बसेर स्मृति पुस्तिकामा हस्ताक्षर गरे । मर्केल र म्याक्रोंले फ्रान्स र जर्मनीबीच मेलमिलाप दर्शाउने एउटा शिलालेखको अनावरणसमेत गरे ।
प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित करिब ७० जना विश्व नेता सहभागी हुँदैछन् । यसअघि ट्रम्प र म्याक्रोंबीच युरोपेली मुलुकहरुको प्रतिरक्षासम्बन्धी विषयलाई लिएर विवाद भएको थियो ।
प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको फ्रान्सको कम्पेनिया शहरदेखि नजिकै पर्ने एउटा जंगल पुग्ने मर्केल द्वितीय विश्वयुद्धपछिको पहिलो जर्मन नेता हुन् । अज्ञात सैनिकहरूको चिहान रहेको ठाउँमा गरिने प्रमुख कार्यक्रमको नेतृत्व फ्रान्सका राष्ट्रपति म्याक्रोंले गर्दै छन् । (एजेन्सी)






प्रतिक्रिया दिनुहोस्