१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


बहुचर्चित लाउडा विमान प्रकरण अदालतमा, न्यायाधीशबीच राय बाझियो


0
Shares

काठमाडौं, जेठ १२ । भ्रष्टाचारको प्रमाणलाई हेर्ने दृष्टिकोणमा मतैक्य हुन नसक्दा नेपालको बहुचर्चित भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस भएको छ ।

लाउडा विमान भाडामा लिँदा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्चको संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँको भ्रष्टाचार मुद्दामा सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरेले सबै आरोपितले सफाइ पाउने भनी विशेष अदालतले गरेको फैसला सदर हुनुपर्ने राय दिएका थिए ।

तर न्यायाधीश ईश्वर खतिवडाले भने तत्कालीन शाही नेपाल वायुसेवा निगमका अध्यक्ष हरिभक्त श्रेष्ठ र सञ्चालक समिति सदस्य तीर्थमान श्रेष्ठ दोषी देखिएकाले उनीहरूलाई कैद र जरिवाना हुनुपर्ने राय दिएका थिए।

उनले हरिभक्तलाई दुई वर्षसहित एक वर्ष थप गरी तीन वर्ष कैद र ५० हजार जरिवाना तथा तीर्थमानलाई एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको राय दिएका थिए।

श्रेष्ठद्वयबाहेक अन्य सात प्रतिवादीले सफाइ पाउने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको देखिन्छ।

लाउडा प्रकरणमा मुछिएका सबै आरोपीलाई विशेष अदालतले भने सफाइ दिएको थियो ।

दुई आरोपीको हकमा न्यायाधीशहरूको राय फरक पर्नुको कारण भने लाउडा विमान भाडा प्रकरणमा भएको अनियमिततालाई हेर्ने दृष्टिकोण र प्रमाणको व्याख्या नै हो ।

यो मुद्दा अब ३ सदस्यीय इजलासमा पेस हुनेछ। -कान्तिपुर दैनिकबाट