
जकार्ता, कात्तिक २४ । दुई हप्तापहिले दुर्घटनाग्रस्त लायन एअरको विमानमा परेका यात्रीहरूको खोजी शनिबारदेखि रोकिएको इन्डोनेसियाले जनाएको छ ।
अक्टोबर २९ मा इन्डोनेसियाको जाभा समुद्रिक आकाशमा दुर्घटनापछि समुद्रमा खसेको अनुमान गरिएको ‘७३७–एमएएक्स–८’ मा यात्रारत् चालकदलका सदस्यसहित १८९ जनाको खोजी शनिबारपछि रोकिएको खोजी तथा उद्धार समूहका प्रमुख मुहम्मद स्यायुगीले सन्चारकर्मीलाई बताए ।
‘विगत ४८ घन्टाको अन्तरालमा मृत शरीरका कुनै संकेत नभेटेको र दुई हप्तासम्म विमान दुर्घटनाबाट समुद्रमा जीवित रहनसक्ने सम्भावना नरहेकाले मृतकको खोजीकार्य रोकिएको छ’–स्यायुगीले सन्चारकर्मीसँग बताए ।
‘उद्धारकाक्रममा मृतकका शरीरका विभिन्न १९६ नमुनाहरू भेटिएको र तीमध्ये ७९ जनाको शरीर पहिचान भइ अन्तिम संस्कारका लागि पीडितका आफन्तहरूलाई बुझाइएको छ’–उनले थपे–‘दुर्घटना भएको केही समयभित्रैदेखि उद्धार सुरू गरेको र जिम्मेवारीअनुसार काम गरेको जानकारी गराउन चाहन्छौं । हामीले पीडितका परिवारलाई सेवाबाट सन्तुष्ट बनाउन नसकेको भए क्षमा माग्दै अब मृत शरीरको खोजी रोक्ने निर्णय गरेका छौं ।’
मृतकका आफन्तलाई क्षतिपूर्तिस्वरूप प्रदान गराउनेगरी घोषणा गरेको रकम शनिबारउप्रान्त वितरण गरिने लायन एअर कम्पनीले जनाएको छ ।
इन्डोनेसियाली राष्ट्रिय यातायात सुरक्षा समितिले अहिलेसम्म एउटा ‘ब्ल्याक बक्स’ र ‘डाटा रेकर्डर’ फेलापारेको र ‘ककपिट भ्वाइस रेकर्डर’को खोजी जारी रहेको जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्