
सागर महत (इमेज)
अर्घाखाँची, कात्तिक २४ । अर्घाखाँचीमा एक चितुवा पासोमा परेको छ ।
केही दिनअघि भूमिकास्थान नगरपालिका–९, ढिकुराको प्याँलेमा ४ वर्षीय बालक आर्यन घिमिरेको नरभक्षी चितुवाको आक्रमणबाट ज्यान गएको थियो । त्यसपछि स्थानीयले चितुवा मार्न स्थानीय प्रशासनलाई आग्रह गरेका थिए ।
सोहीअनुसार जिल्ला प्रशासन कार्यालयले चितुवा मार्न प्रहरी परिचालन गरेको थियो ।
तर, चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाएर राखिएको थियो । त्यही खोरमा शनिबार चितुवा परेपछि स्थानीय खुसी भएका छन् ।
खोरमा परेको घाइते अवस्थामा रहेको चितुवा नरभक्षी चितुवा हो/होइन भन्ने परीक्षणका लागि जिल्ला डिभिजन वन कार्यालयमा ल्याइएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
यहाँ पछिल्लो पाँच वर्षमा २४ जना बालबालिकामाथि चितुवाले आक्रमण गरिसकेको छ । आक्रमणमा परी १८ जनाको ज्यान गएको छ ।
चितुवा आतंक बढ्दै गएपछि सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय बासिन्दा त्रसित छन् ।
जंगलको बाटो भएर स्कुल जानुपर्ने हुँदा यहाँका बालबालिका स्कुल जानै डराएपछि स्थानीयले जिल्ला प्रशासनमा गुनासोसमेत गरेका थिए ।
सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट लगायत क्षेत्रमा चितुवाको बढी प्रभाव बढेको बताइएको छ ।
चार वर्षयता नै पटक–पटक जीउधनको रक्षाका लागि भन्दै स्थानीयले आग्रह गरेपछि नरभक्षी चितुवा मार्न जिल्ला प्रशासनले अहिले सुरक्षाकर्मी परिचालन गरेको हो ।
अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानवीय क्षति भएपछि स्थानीयले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्नसमेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्